काठमाडौं । प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक, बैंकका सञ्चालक, पदाधिकारी तथा व्यवस्थापनसँग सम्बन्धित विषयमा प्रकाशित तथा प्रसारित समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बैंकले ती सामग्रीहरू भ्रामक, आधारहीन र सत्यतथ्यविपरीत रहेको भन्दै आपत्ति जनाएको हो ।
बैंकले जारी गरेको विज्ञप्तिमा यस्ता समाचारले संस्थागत प्रतिष्ठा, सञ्चालक तथा पदाधिकारीहरूको व्यक्तिगत मान–मर्यादा, बैंकप्रतिको सार्वजनिक विश्वास तथा नियामकीय निकायहरूप्रति अनावश्यक भ्रम सिर्जना गर्ने उल्लेख गरिएको छ । बैंकले प्रकाशित तथा प्रसारित त्यस्ता दुष्प्रचारयुक्त समाचारको पूर्ण रूपमा खण्डन गर्दै आधार, प्रमाण वा आधिकारिक पुष्टि बिना समाचार सम्प्रेषण गर्नु पत्रकारिताको व्यावसायिक मूल्य, जिम्मेवारी र आचारसंहिताअनुकूल नहुने स्पष्ट पारेको छ ।
प्रभु बैंकका अनुसार कर्मचारी सरुवा, कार्य जिम्मेवारीमा आवश्यक समायोजन, आन्तरिक व्यवस्थापन, कर्जा असुली प्रक्रिया सञ्चालन तथा वित्तीय लिलामी सूचना प्रकाशनजस्ता कार्यहरू बैंकिङ व्यवसायका नियमित र कानुनसम्मत संस्थागत प्रक्रियाअन्तर्गत हुने विषय हुन् । यस्ता प्रक्रियालाई वास्तविकताभन्दा फरक ढंगले प्रस्तुत गरी भ्रम फैलाउने प्रयासप्रति बैंकले असहमति जनाएको छ ।
विज्ञप्तिमा विगतमा केही कर्जा फाइलसँग सम्बन्धित विषयमा अधिकारप्राप्त निकायबाट अनुसन्धान भएको र सम्बन्धित मुद्दाहरू सक्षम अदालतमा विचाराधीन रहेको पनि उल्लेख गरिएको छ । बैंकले नियामकीय प्रावधान र प्रचलित कानुनको पूर्ण पालना गर्दै जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण तथा सुशासनका उपायहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेको र भविष्यमा यस्ता कमजोरी दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेको छ । साथै, सञ्चालक समिति तथा व्यवस्थापनबाट हुने सबै निर्णयहरू नेपाल राष्ट्र बैंकको निर्देशन तथा नियामकीय मापदण्डअनुसार हुने र भविष्यमा पनि त्यही अनुरूप सञ्चालन हुने जनाएको छ ।
प्रभु बैंकले सञ्चारमाध्यमलाई कुनै पनि सूचना वा समाचार प्रकाशित वा प्रसारण गर्नुअघि त्यसको सत्यता, तथ्यपरकता र विश्वसनीयताको आवश्यक पुष्टि गर्न आग्रह गरेको छ । अपुष्ट र एकपक्षीय सूचनाले संस्था, व्यक्ति, सार्वजनिक विश्वास र समग्र वित्तीय प्रणालीमा नकारात्मक असर पार्न सक्ने भएकाले आगामी दिनमा उच्चतम व्यावसायिक संवेदनशीलता, निष्पक्षता र तथ्यपरकताका साथ समाचार सम्प्रेषण गरिने विश्वास बैंकले व्यक्त गरेको छ ।




