काठमाडौं । टेलिटकले नेपाली बजारमा एचएमडी आर्क २ (HMD Arc²) स्मार्टफोन सार्वजनिक गरेको छ । ५ हजार एमएएच ब्याट्री, १३ मेगापिक्सेलको मुख्य क्यामेरा र ४ जीबी र्यामसहितको यो स्मार्टफोनको मूल्य २० हजार ९९९ रुपैयाँ तोकिएको छ ।
कम्पनीका अनुसार फोनमा रहेको ब्याट्रीले एक पटक चार्ज गर्दा ५१ घण्टासम्म ब्याकअप दिन्छ । दैनिक प्रयोगलाई लक्षित गरी ल्याइएको यस फोनमा ६४ जीबी आन्तरिक स्टोरेज उपलब्ध छ, जसलाई माइक्रोएसडी कार्डमार्फत १२८ जीबीसम्म विस्तार गर्न सकिन्छ ।
एचएमडी आर्क २ मा ६.५२ इन्चको डिस्प्ले छ । २०:९ एस्पेक्ट रेसियो रहेको यसको स्क्रिनमा अधिकतम ४६० निट्स ब्राइटनेस उपलब्ध छ । फोनमा युनिसोक ९८६३ए प्रोसेसर र एन्ड्रोइड १४ (गो एडिसन) अपरेटिङ सिस्टम प्रयोग गरिएको छ ।
यसमा रहेको ४ जीबी र्यामलाई भर्चुअल मेमोरीमार्फत थप ४ जीबीसम्म विस्तार गर्न सकिने कम्पनीले जनाएको छ । फोटोग्राफीका लागि फोनको पछाडि अटोफोकस र एलईडी फ्ल्याससहितको १३ मेगापिक्सेल क्यामेरा छ भने अगाडि ५ मेगापिक्सेलको क्यामेरा दिइएको छ ।
कनेक्टिभिटीका लागि यसमा ४जी एलटीई ब्यान्ड २०, ब्लुटुथ ५.२, यूएसबी टाइप-सी पोर्ट र एफएम रेडियो उपलब्ध छन् । सुरक्षाका लागि फोनमा साइड-माउन्टेड फिङ्गरप्रिन्ट सेन्सर र फेस अनलक सुविधा राखिएको छ । कम्पनीले दुई वर्षसम्म प्रत्येक तीन महिनामा सुरक्षा अपडेट उपलब्ध गराउने जनाएको छ ।
८.९५ मिलिमिटर मोटाइ रहेको एचएमडी आर्क २ गोल्डेन बेज र नेभी ब्लु गरी दुई रङमा उपलब्ध हुनेछ । यसको डिजाइनमा पछाडिको क्यामेरा वरिपरि मिनिमलिस्टिक रिम र प्रकाश परावर्तन गर्ने ब्याक कभर प्रयोग गरिएको कम्पनीले जनाएको छ ।
टेलिटकका कार्यकारी निर्देशक प्रतीक जालानले किफायती मूल्यमा भरपर्दो प्रविधि उपलब्ध गराउने उद्देश्यसहित फोन सार्वजनिक गरिएको बताए । उनका अनुसार लामो समय टिक्ने ब्याट्री, क्यामेरा, दैनिक प्रयोगका लागि आवश्यक कार्यसम्पादन र डिजाइन फोनका मुख्य विशेषता हुन् ।
एचएमडी आर्क २ को ४ जीबी र्याम र ६४ जीबी स्टोरेज भएको संस्करणको मूल्य २० हजार ९९९ रुपैयाँ तोकिएको छ ।

