
काठमाडौं । भारतको महाराष्ट्र राज्यको सोलापुर जिल्लास्थित कर्माळा नगरमा अवस्थित सुरताल संगीत विद्यालयले यस वर्ष आयोजना गर्न लागेको १०औँ अन्तर्राष्ट्रिय सुरताल संगीत तथा नृत्य महोत्सव”मा नेपाली कलाकार सुदर्शन राजोपाध्यायलाई अन्तर्राष्ट्रिय सम्मान पुरस्कार प्रदान गरिने भएको छ ।
संगीत र नृत्यको क्षेत्रका प्रतिभावान कलाकारहरूलाई सम्मान गर्ने उद्देश्यले प्रत्येक वर्ष आयोजना गरिने यस महोत्सवमा यसपालि पं. के.एन. बोलंगे गुरूजी तथा पं. विष्णु दिगंबर पलुस्करको पुण्यतिथिको अवसरमा विविध कार्यक्रम हुनेछन् । आयोजक संस्थाका अनुसार, गायन, वादन, नृत्य तथा संगीतको प्रचार–प्रसारमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई यस समारोहमा विशेष सम्मान गरिनेछ। समारोह यही आउँदो अगष्ट २४, २०२५ मा भारतको कर्माळा नगरमा दिउँसो ३:०० बजे हुनेछ ।
आयोजक सुरताल संगीत विद्यालयका प्रमुख श्री बालासाहेब बी. नरारेद्वारा हस्ताक्षरित निमन्त्रणा पत्रमार्फत पं. राजोपाध्यायलाई सम्मानित अतिथिको रूपमा उपस्थित रहन अनुरोध गरिएको छ। यो सम्मान नेपाली संगीत क्षेत्रका लागि गौरवको विषय हो । पं. सुदर्शन राजोपाध्याय विगत लामो समयदेखि शास्त्रीय संगीतको क्षेत्रलाई समर्पित रहँदै आएका छन् ।


