
काठमाडाैं । चालु आर्थिक वर्ष २०८१/८२ (२०२४/२५) को जेठ महिनामा नेपालमा रेमिट्यान्स आप्रवाहले नयाँ मासिक कीर्तिमान कायम गरेको छ। यस अवधिमा कुल १७६.३२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन अहिलेसम्मकै उच्च मासिक रेमिट्यान्स हो। यसअघि वैशाख महिनामा १६५ अर्ब रुपैयाँ भित्रिएर नयाँ कीर्तिमान बनेको थियो।
यो वृद्धिसँगै चालु आर्थिक वर्षको पहिलो ११ महिनामा कुल रेमिट्यान्स आप्रवाह १५ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.५ प्रतिशतको वृद्धि हो। यद्यपि, कुल रकममा वृद्धि भए पनि वृद्धिदर भने गत वर्षको तुलनामा केही सुस्त देखिएको छ। गत आर्थिक वर्षको सोही ११ महिनाको अवधिमा रेमिट्यान्स आप्रवाह १७.२ प्रतिशतले बढेको थियो।
नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार, अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १२.७ प्रतिशतले बढेर ११.२५ अर्ब डलर पुगेको छ। गत वर्षको सोही अवधिमा डलरमा आधारित रेमिट्यान्स १५.२ प्रतिशतले बढेको थियो।
यसैबीच, समीक्षा अवधिमा खुद द्वितीयक आय (Net Secondary Income) १ खर्ब ६८ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिको १ खर्ब ४३ खर्ब १० अर्ब रुपैयाँभन्दा बढी हो।
श्रम आप्रवासनतर्फ, सोही ११ महिनाको अवधिमा ४ लाख ५२ हजार ३२४ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने ३ लाख ८ हजार ६७ जनाले वैदेशिक रोजगारीका लागि पुनः स्वीकृति प्राप्त गरेका छन्।