
काठमाडौं । नेपाल फ्रेट फरवार्डरस् एसोसिएसन (नेफा)का अध्यक्ष राजेन्द्र सङ्ग्रौलाको नेतृत्वमा ढुवानी तथा लजिस्टिक क्षेत्रको नीतिगत सुधार र पूर्वाधार विकासलाई प्राथमिकता दिँदै ३१औं कार्गो दिवस भव्य रूपमा मनाउने तयारी गरिएको छ । हरेक वर्ष २९ जुलाई (साउन १३) मा मनाउँदै आएको कार्गो दिवस यसपटक पनि काठमाडौंको हायात रिजेन्सी होटलमा विविध कार्यक्रमसहित सम्पन्न गरिनेछ ।
सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सङ्ग्रौलाले नेपालको लजिस्टिक्स तथा ढुवानी क्षेत्रलाई विश्वस्तरीय प्रविधि, दक्षता र पूर्वाधारसँग जोड्न आवश्यक सुधारको खाँचो औंल्याउँदै यो दिवसलाई ‘नीतिगत सम्वाद र समाधानको प्लेटफर्म’को रुपमा लिने बताएका थिए । “अब कार्गो क्षेत्र केवल ढुवानीमा सीमित छैन, यो देशको समग्र आपूर्ति श्रृङ्खलाको मेरुदण्ड हो,” अध्यक्ष सङ्ग्रौलाले भने, “नीति, समन्वय र लगानीको त्रिकोणीय संयोजनबाट मात्रै हामी नेपाली अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाउन सक्छौं ।”
त्यस अवसरमा नेफा वरिष्ठ उपाध्यक्ष एवं ३१औं कार्गो दिवस संयोजक नरेश कुमार अग्रवालले संघबाट प्रत्येक वर्ष २९ जुलाईका दिनलाई कार्गो दिवसको रूपमा मनाउने परम्परा रहेको र यसैको निरन्तरता स्वरूप यस वर्ष ३१औं संस्करण मनाउन लागिएको जानकारी गराए ।
दिवस अन्तर्गत हुने कार्यक्रम तीन सत्रमा सञ्चालन गरिनेछ । पहिलो सत्रमा उद्घाटन समारोहका साथै ‘नेफा वार्षिक अवार्ड २०२५’ वितरण गरिनेछ, जसमा लजिस्टिक्स क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्व, संस्था, एयरलाइन्स, सुख्खा बन्दरगाह सञ्चालक र दीर्घकालीन कर्मचारीहरूलाई सम्मान गरिनेछ। कार्यक्रममा सहयोग पुर्याउनेलाई मायाको चिनो प्रदान गरिने नेफाले जनाएको छ ।
दोस्रो सत्रमा ‘लजिस्टिक विकास र बीबीआइएन कनेक्टिभिटी’ शीर्षकमा अन्तरक्रिया गरिनेछ । यसमा नेपाल सरकारका विभिन्न मन्त्रालय, विभाग, एशियन डेभलपमेन्ट बैंक–नेपाल मिसन, विमान सेवा प्रदायक, सिपिङ्ग कम्पनी, निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय सरोकारवालाहरूको सहभागिता रहनेछ। बीबीआईएन (बंगलादेश, भुटान, भारत, नेपाल) क्षेत्रीय समन्वय, ढुवानी मार्ग विस्तार र नीतिगत एकरूपताका विषयमा छलफल गरिनेछ ।
तेस्रो सत्र अन्तर्गत ‘फेलोसिप एण्ड ट्रेड मिट’ हुनेछ, जसमा सरकारी, निजी तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरूबीच कार्यपत्र प्रस्तुतिका साथै भिडियो डकुमेन्ट्री प्रदर्शन र नेटवर्किङका अवसर प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
अध्यक्ष सङ्ग्रौलाले ढुवानी क्षेत्रलाई प्राथमिकता नदिँदा उत्पादन लागत उच्च हुन पुगेको, आयात–निर्यात असजिलो भएको र समग्र अर्थतन्त्रमा नकारात्मक असर परेको उल्लेख गरे । “यस क्षेत्रमा समयमै ध्यान नदिँदा उद्योगी व्यवसायीहरूलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न कठिन भइरहेको छ,” उनले भने, “त्यसैले अब सरकार, निजी क्षेत्र र सरोकारवालाबीचको गहिरो समन्वय आवश्यक छ ।”
‘लजिस्टिक डेभलपमेन्ट अफ नेपाल एण्ड बीबीआइएन कनेक्टिभिटी’ नाराका साथ मनाइँदै गरिएको ३१औं कार्गो दिवस नेपालको ढुवानी नीतिमा नवीन सोच ल्याउने अवसरका रूपमा लिइएको छ । नेफाले बताएको छ कि फ्रेट फारवार्डिङ क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखिको अनुभव, नेटवर्क र व्यावसायिक संरचना प्रयोग गर्दै यस दिवसलाई नीतिगत बहस र समाधानको प्रमुख कार्यक्रम बनाइनेछ ।