
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र डिएआई–उदय परियोजनाबीच सम्झौता भएको छ । कोशी प्रदेशका विभिन्न साना तथा लघु उद्यमहरूलाई वित्तीय पहुँचका लागि सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मी तथा परियोजनाका चिफ अफ पार्टी अरुण रानाले हस्ताक्षर गरे ।
समझदारी पश्चात् कोशी प्रदेशमा सञ्चालित विभिन्न साना तथा लघु व्यवसायहरूलाई सहजरुपमा कर्जा प्रवाह हुने र लगानीको अभावले व्यवसाय विस्तार गर्न असमर्थ उद्यम तथा उद्यमीहरूको व्यवसाय विस्तार सँगै रोजगारी वृद्धि हुने बैंकले जनाएको छ ।
यस सम्झौता अनुसार डिएआई–उदय परियोजनाले छनौट गरेका उद्यम तथा व्यवसायहरूले ग्लोबल आइएमई बैंकको कोशी प्रदेशका सम्पूर्ण शाखा कार्यालयबाट सहजरुपमा कर्जा पाउनेछन् ।
नेपाल सरकार तथा स्विट्जरल्याण्ड सरकारको द्विपक्षीय पहलस्वरुप कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको प्राविधिक सहयोगमा कोशी प्रदेशका सम्पूर्ण जिल्लाहरुमा डिएआई–उदय परियोजनाले कार्य गर्दै आइरहेको छ ।


