काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.३० प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकले १ अर्ब ८८ करोड खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.५३ प्रतिशतले बढेर ६ अर्ब ७ करोड ४९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ५ अर्ब ७५ करोड ६७ लाख रुपैयाँ थियो ।
त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ११.७५ प्रतिशतले बढेर ८ अर्ब ३१ करोड ४४ लाख रुपैयाँ पुगेको छ । सञ्चालन मुनाफा करिब ३ अर्ब १६ करोड ४७ लाख रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ ।
समीक्षा अवधिमा कर्जा तथा अन्य नोक्सानीका लागि छुट्याइएको रकम बढेर १ अर्ब ८ करोड १९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो रकम ५५ करोड ६७ लाख रुपैयाँ थियो ।
असार मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ९८ करोडभन्दा बढी छ । अघिल्लो वर्ष यस्तो मुनाफा ९३ करोड ६४ लाख रुपैयाँ थियो । त्यसैगरी, वार्षिकीकरण गरिएको वितरणयोग्य मुनाफा प्रतिसेयर ७.५१ रुपैयाँ र प्रतिसेयर आम्दानी १५.५९ रुपैयाँबाट बढेर १७.४९ रुपैयाँ कायम भएको छ ।
यस अवधिमा बैंकको खराब कर्जा अनुपात ३.९६ प्रतिशतबाट बढेर ३.९८ प्रतिशत पुगेको छ ।
असार मसान्तसम्म बैंकको चुक्ता पुँजी १५ अर्ब ८ करोड ६२ लाख रुपैयाँ, जगेडा कोष ७ अर्ब ४३ करोड ६८ लाख रुपैयाँ र सञ्चित मुनाफा ९८ करोड २० लाख रुपैयाँ छ ।

