नुवाकोटको विदुरस्थित देवीघाटमा बाढीले पुल बगाएपछि ठप्प भएको यातायात सुचारु गर्न नेपाली सेनाले बेलिब्रिज जडानको काम थालेको छ । तादी खोलामा ६० मिटरको एक्रो ब्रिज जडान सुरु भएको पुलको सिभिल संरचना निर्माणको काम सडक विभागले गरिरहेको छ भने पुल जडानको प्राविधिक काम सेनाले सम्हालिरहेको छ ।
भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीले यहाँको करिब ५५ मिटर लम्बाइको पक्की पुल बगाएको थियो । त्यही पुलको अबुटमेन्टमा नयाँ एक्रो ब्रिज जडान सुरु भएको हो । देवीघाटमा पुल तयार भएपछि रसुवातर्फको पहुँच सहज हुने अपेक्षा गरिएको छ ।
यस्तै त्रिशूली बजार र बेत्रावतीमा पनि तत्काल बेलिब्रिज जडान गर्न लागेको छ । यी स्थानमा करिब ४८ मिटर लम्बाइका पुल आवश्यक पर्ने देखिएको छ ।
विभागले क्षतिग्रस्त ३५ पुलमध्ये तत्काल ३ स्थानमा बेलिब्रिज जडान गरी अस्थायी रुपमा गल्छी–त्रिशुली–स्याफ्रुबेंसी–रसुवागढी सडक खुलाउने तयारी गरिरहेको छ ।

