काठमाडौं, असोज १८ — लाईभ नेपाल नेटवर्क प्रा.लिको आयोजना तथा काठमाडौं महानगरपालिका वडा नं. १६ को सहकार्यमा जनजागृति ज्ञानरश्मि माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि लक्षित गरी पाँचदिने फोटोग्राफी तालिम आजदेखि औपचारिक रूपमा सुरु भएको छ।
तालिमको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि तथा काठमाडौं महानगरपालिका वडा नं. १६ का वडा सदस्य हर्क खातीले किताव र ज्ञानसँगै व्यावहारिक सीप प्रदान गर्नु आजको आवश्यकता भएकोमा जोड दिनुभयो। उहाँले यस्तो उपयोगी कार्यक्रम सञ्चालन गरेकामा लाईभ नेपाल नेटवर्कलाई धन्यवाद दिँदै आगामी दिनहरूमा पनि वडाको तर्फबाट यस्ता कार्यक्रमहरूका लागि निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विद्यालयका शिक्षक तथा विशेष अतिथि दिवस बाबु पोखरेलले विद्यालय परिसरमै फोटोग्राफीजस्तो सीपमूलक तालिम सञ्चालन हुनु निकै खुसीको कुरा भएको बताउनुभयो। विद्यार्थीहरूलाई तालिममा सक्रिय सहभागिता जनाउन आग्रह गर्दै उहाँले विश्वभर धेरैले फोटोग्राफीलाई नै आफ्नो जीविकोपार्जनको माध्यम बनाएकाले यसलाई भविष्यको पेसाका रूपमा समेत अगाडि बढाउन सकिने धारणा राख्नुभयो।
त्यस्तै, समाजसेवी तथा विद्यालयका सल्लाहकार विदुर कुमारले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि सैद्धान्तिक शिक्षा र व्यावहारिक सीप दुवै अनिवार्य रहेको औँल्याउनुभयो।
पहिलो दिनको प्रशिक्षण र अवसरहरूको खोजी तालिमका मुख्य प्रशिक्षक सागर ताम्राकारले पहिलो दिन विद्यार्थीहरूलाई क्यामेराको परिचय, यसको बाहिरी संरचना, इतिहास तथा उत्पत्तिको बारेमा सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गर्नुभएको थियो। त्यसैगरी, सहायक प्रशिक्षक सुतित सुनारले तालिमको मुख्य उद्देश्य र यस क्षेत्रमा रहेका सम्भावनाहरूबारे प्रकाश पार्नुभयो।
कार्यक्रमका सभापति तथा लाईभ नेपाल नेटवर्कका अध्यक्ष पुष्करराज पाण्डेले विभिन्न विद्यालयमा यस्ता सीपमूलक कार्यक्रमहरू गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने जानकारी दिनुभयो। उहाँले तालिम समापनपछि फोटोग्राफीमा रुचि राख्ने विद्यार्थीहरूलाई उनीहरूको क्षमता र इच्छाअनुसार विभिन्न संस्थाहरूसँग जोडी स्वयंसेवक (भोलिन्टियर), आंशिक (पार्टटाइम) वा पूर्णकालीन (फुलटाइम) रूपमा काम गर्ने अवसरसमेत जुटाइदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
समारोहको सञ्चालन गर्दै पत्रकार तथा लाईभ नेपाल नेटवर्ककी निर्देशक सावित्री बस्नेतले फोटोग्राफीजस्ता रचनात्मक तालिमहरूले विद्यार्थीको आत्मविश्वास, सिर्जनशीलता र व्यावहारिक क्षमता वृद्धिमा महत्त्वपूर्ण टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
कृष्णराज तिमिल्सिना, साधना बस्नेत, विभिन्न विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको यो पाँचदिने तालिम आगामी असोज २२ गते समापन हुनेछ।

