काठमाडौँ । महिलाहरूलाई बचत, लगानी तथा पुँजी बजारसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले टोखा नगरपालिका–९, गोंगबुस्थित चेतना महिला विद्यालयमा वित्तीय साक्षरता तथा पुँजी बजार सचेतना कार्यक्रम सम्पन्न भएको छ।
‘विश्व लगानी सप्ताह २०२६’ को अवसरमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडद्वारा आयोजित उक्त कार्यक्रम ‘आफ्नो भविष्यमा लगानी गर्नुहोस्, आजै भविष्य सुरक्षित गर्नुहोस्’ भन्ने नाराका साथ सञ्चालन गरिएको थियो।
कार्यक्रममा बैंकका कर्पोरेट एड्भाइजर अरुण श्रेष्ठले मुख्य प्रशिक्षकका रूपमा वित्तीय साक्षरता, बचत तथा लगानीको महत्त्व, नेपाली पुँजी बजारको वर्तमान अवस्था, डिम्याट (Demat) र मेरो सेयर खाता खोल्ने प्रक्रियाका साथै आईपीओ (IPO) मा आवेदन दिने चरणहरूबारे विस्तृत प्रशिक्षण दिनुभएको थियो। त्यसैगरी, उहाँले लगानी गर्दा ध्यान दिनुपर्ने जोखिम, ठगी तथा स्क्यामका चेतावनी संकेत (Warning Signs) र लगानी पूर्व लिनुपर्ने जानकारीबारे सहभागीहरूलाई सचेत गराउनुभयो।
नेपाल एसबीआई मर्चेन्ट बैंकिङका इन्भेस्टमेन्ट हेड उत्सव तुलाधरको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा राष्ट्रिय युवा परिषद्का केन्द्रीय सचिवालय सदस्य गोविन्द भुसाल, लाइभ नेपाल नेटवर्क प्रा.लि.का सञ्चालक पुष्करराज पाण्डे र सामाजिक अभियन्ता टंक पौडेलले महिला सशक्तिकरणका लागि वित्तीय ज्ञान अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो। वक्ताहरूले प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो।
कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक शान्ता पण्डितले आयोजकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता उपयोगी कार्यक्रम निरन्तर सञ्चालन गर्न अनुरोध गर्नुभयो। सहप्रधानाध्यापक उर्मिला अमात्यले कार्यक्रमको प्रशंसा गर्दै चेतना महिला विद्यालयको बैंक खाता नेपाल एसबीआई मर्चेन्ट बैंकिङमा खोल्ने घोषणा गर्नुभयो।
विद्यालयमा अध्ययनरत महिला दिदीबहिनीहरूको उल्लेख्य सहभागिता रहेको सो कार्यक्रमले सुरक्षित लगानी, आर्थिक सचेतना र पुँजी बजारबारे व्यावहारिक ज्ञान प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेलेको थियो।

