नयाँदिल्ली । अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतविरोधी भावनालाई नेपाली राष्ट्रवादसँग जोड्ने समय सकिएको बताएका छन्।
भारत भ्रमणमा रहेका वाग्लेले शुक्रबार नयाँदिल्लीमा आयोजित ‘एनडिटिभी वर्ल्ड समिट २०२६’ मा बोल्दै प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले भारतसँग राम्रो सम्बन्ध चाहेको बताए।
एनडिटिभीका अनुसार शुक्रबार नेपाल–भारत सम्बन्धबारे आयोजित विशेष सत्रमा वाग्लेले दुई देशको सम्बन्धमा बेलाबेला समस्या देखिए पनि भौगोलिक र सामाजिक निकटताले गहिरोसँग जोडेको उल्लेख गरे।
उनले प्रधानमन्त्री शाहले चाँडै भारत भ्रमण गर्ने पनि बताएका छन्।
वाग्ले सहभागी सम्मेलन भारतीय सञ्चारमाध्यम एनडिटिभीले बिहीबार र शुक्रबार आयोजना गरेको हो।
वाग्लेले शुक्रबार ‘Proximity to Prosperity: The India-Nepal Opportunity’ शीर्षकको सत्रमा बोलेका हुन्। उक्त सत्र नेपाल–भारतको निकटतालाई आर्थिक समृद्धिको अवसरमा कसरी बदल्ने भन्ने विषयमा केन्द्रित थियो।
सम्मेलनमा उनले जलवायु परिवर्तनबाट भएको क्षतिको पुनर्निर्माणका लागि नेपालजस्ता मुलुकले ऋण लिनुपर्ने अवस्थामाथि प्रश्न उठाए।
एनडिटिभीले सार्वजनिक गरेको उनको कार्यक्रमको अंश अनुसार, जलवायु संकट सिर्जना गर्न नेपालको योगदान अत्यन्त कम भए पनि त्यसले ध्वस्त बनाएका पूर्वाधार पुनर्निर्माणको आर्थिक भार नेपालमाथि परिरहेको वाग्लेले बताए।
बाढीले क्षति पुर्याएका पुल, सडक, स्वच्छ ऊर्जा उत्पादन गर्ने जलविद्युत आयोजना र घर पुनर्निर्माण गर्न नेपालले किन ऋण लिनुपर्ने भन्ने उनको प्रश्न थियो। यो विषय अन्तर्राष्ट्रिय छलफलमा ल्याउनुपर्नेमा उनले जोड दिए।
वाग्लेले नेपालमा भएका ठूला विपदपछि भारतले गरेको तत्काल सहयोगको भने प्रशंसा गरे।
२०७२ सालको भूकम्पपछि केही घन्टामै भारतीय सहायता काठमाडौं आइपुगेको स्मरण गर्दै उनले पछिल्लो बाढीपछि पनि भारतबाट तत्काल सहयोग प्राप्त भएको बताए। उनले बाढीपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शाहलाई फोन गरेर सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको उल्लेख गरे।
सरकारी तहका संवादमा पनि भारतले नेपाललाई आवश्यक सहयोग गर्न तत्परता देखाएको उनको भनाइ थियो। यस्तो सहयोगले दुई देशको सम्बन्धलाई थप बलियो बनाएको उनले बताए।
वाग्लेले सम्मेलनमा नेपालको जेनजी आन्दोलन र युवा पुस्ताको राजनीतिक अपेक्षाबारे पनि बोले।
उनले स्मार्टफोन र सामाजिक सञ्जालसँग हुर्किएको पुस्ता यथास्थिति स्वीकार्न तयार नभएको बताए। डिजिटल प्रविधिले राजनीतिक सहभागिता, सार्वजनिक अपेक्षा र सामाजिक आन्दोलनको स्वरूप बदलिरहेको उनको विश्लेषण थियो।
युवा आन्दोलनको प्रभाव दीर्घकालीन बनाउन सडकको आक्रोशलाई लोकतान्त्रिक संस्थासँग जोड्नुपर्नेमा पनि उनले जोड दिए।
उनले नेपालको अनुभवलाई राजनीतिक परिवर्तनको उदाहरणका रूपमा प्रस्तुत गर्दै आन्दोलनबाट उठेका मागलाई संस्थागत प्रक्रियामा लैजानुपर्ने बताए।
यसअघि बिहीबार वाग्लेले भारतीय विदेशमन्त्री एस जयशंकर मुख्य वक्ता रहेको सत्रमा बदलिँदो अन्तर्राष्ट्रिय सहकार्यबारे प्रश्न राखेका थिए।
उनले परम्परागत बहुपक्षीय संस्थाको सट्टा समान स्वार्थ भएका देशका साना र लचिला समूहहरूमार्फत सहकार्य गर्ने प्रवृत्ति बढेको हो भन्ने प्रश्न गरेका थिए।
एनडिटिभीको यो कार्यक्रमलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सम्बोधन गरेका थिए। उक्त अवसरमा मोदी र वाग्लेबीच भेट भएको थियो।

