जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धनुषा र महोत्तरीका विभिन्न धार्मिकस्थलमा पूजार्चना गरेका छन्। छठ पर्व मनाउन पत्नी निकिता पौडेलसहित जनकपुर आउनुभएका सभापति लामिछानेले आज बिहान जानकी मन्दिरमा पूजाआजा गरेका हुन्।
आजै उनले धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिकास्थित लक्ष्मीनारायण मन्दिर, महोत्तरीको जलेश्वरस्थित जलेश्वरनाथ मन्दिर र मटिहानीस्थित लक्ष्मीनारायण मन्दिरमा पनि पूजार्चना गरेको रास्वपाका जिल्ला नेता अम्बुप्रसाद साहले राससलाई जानकारी दिए । सभापति लामिछाने आज अपराह्न यहाँस्थित गङ्गासागरमा आयोजना हुने छठ कार्यक्रम पनि सहभागी हुनुहुने उहाँले बताए ।

