काठमाडौं । ललितपुरको पाटन दरबार स्क्वायरस्थित कार्तिक डबलीमा सञ्चालन भइरहेको ऐतिहासिक कार्तिक नाचको दशौँ दिन आइतबार साँझ नरसिंह अवतार अर्थात् हिरण्यकश्यपु वधको नाच प्रस्तुत गरिएको छ ।
कार्तिक २७ गतेदेखि सुरु भएको ऐतिहासिक कार्तिक नाचअन्तर्गत भगवान् विष्णुको नरसिंह अवतारको कथा प्रस्तुत गरिएको हो । धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यो नाच तान्त्रिक विधि र परम्परागत शैलीमा प्रस्तुत गरिन्छ ।
नेपाल संवत् ७६१ (सन् १६४१) देखि सुरु भएको मानिने कार्तिक नाच नेपालको ऐतिहासिक र सांस्कृतिक सम्पदाका रूपमा परिचित छ ।
मल्लकालीन राजा सिद्धिनरसिंह मल्लको पालामा सुरु भएको यस नाचमा भगवान् विष्णुका विभिन्न अवतार, धार्मिक आख्यान तथा पौराणिक कथाहरू नृत्य र अभिनयमार्फत प्रस्तुत गरिन्छ ।
यस वर्षको कार्तिक नाचमा भक्त सुरदास प्याखँ, माधवानर लीला, बाठा तालेश, जलशयन, वराह अवतार, नरसिंह अवतारलगायत विभिन्न धार्मिक तथा पौराणिक प्रसङ्ग समेटिएका छन् ।
कार्यक्रम तालिकाअनुसार सोमबार मंसिर ७ गते वस्त्रहरण लीला र मंगलबार मंसिर ८ गते दधि लीला प्रस्तुत गरिनेछ । त्यससँगै यस वर्षको कार्तिक नाच समापन हुनेछ ।
कार्तिक नाच संरक्षण समितिको आयोजनामा सञ्चालन भइरहेको नाच प्रत्येक दिन साँझ ७ बजे पाटन दरबार स्क्वायरस्थित कार्तिक डबलीमा प्रस्तुत हुँदै आएको छ ।
ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्त्व बोकेको कार्तिक नाचले नेवारी कला, संस्कृति, परम्परा र मौलिक नृत्य शैलीको संरक्षण तथा पुस्तान्तरणमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ । यस नाचको अवलोकनका लागि स्वदेशी तथा विदेशी दर्शकसमेत कार्तिक डबली पुग्ने गरेका छन् ।

