काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय भ्रमणका लागि आज दिउँसो नयाँ दिल्ली प्रस्थान गर्दै हुनुहुन्छ । प्रधानमन्त्री भइसकेपछि पहिलो पटक छिमेकी मुलुकको राजकीय भ्रमणमा जान लाग्नु भएको हो ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रोपदी मुर्मूसँग शिष्टाचार भेट गर्नुहुनेछ । भारतीय समकक्षी नरेन्द्र मोदीसँग भोलि सोमबार प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री शाहले सोमबार नै नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा गई श्रद्धासुमन अर्पण गर्ने कार्यतालिका छ । प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री एस जयशंकरबीछ भने आजै शिष्टाचार भेट गर्ने कार्यक्रम छ।
भ्रमणका क्रममा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न सम्पन्न परियोजनाहरूको उद्घाटन र नयाँ परियाजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाहको भ्रमणका क्रममा दुवै देशका नेतृत्वहरूबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ।
भ्रमण सकेर सोमबार साँझ ६:३५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट स्वदेश फर्कर्ने कार्यक्रम छ।

