चितव– चितवन र नवलपुर जोड्ने नारायणी नदीको पुलमा अड्किएको नेपालकै पहिलो लक्जरी ‘राइनो क्रुज’ बेवारिस बनेको छ। नेपालको जलपर्यटन क्षेत्रमा नयाँ इतिहास रच्ने दाबीका साथ सञ्चालनमा ल्याइएको क्रुज नदीको गैँडाकोटतर्फ दुई महिनादेखि भग्न र खिया लागेको अवस्थामा लडिराखेको छ ।
गत असोज ११ मा नारायणी नदीमा आएको बाढीले गैँडाकोट स्टेसनबाट ६० टनको क्रुज बगाएको थियो । बाढीको तीव्र बहावले बगाएर नवलपुरको गैँडाकोटतर्फ पुलको पहिलो पिल्लरमै अड्किएको क्रुज दुई महिना बित्दासमेत यथावत् अवस्थामै छाडिएको छ ।
गत असोज ११ गते बाढीले क्रुज बगाएर नारायणीको पिल्लरमा अड्केपछि देशको मुख्य राजमार्ग जोड्ने नारायणी पुलकै सुरक्षामाथि त्रास पैदा भएको थियो ।
लगत्तै निकै हल्लाखल्ला गर्दै स्थानीय प्रशासन र सुरक्षा निकायको सक्रियतामा ८० टन क्षमताको एउटा र ३५ टन क्षमताको अर्को क्रेन तथा थप मेसिन प्रयोग गरी अड्किएको क्रुज तान्न सुरु गरिएको थियो । तर क्रुजलाई पिल्लरबाट करिब चार मिटर मात्रै पर सार्न सम्भव भयो र त्यसपछि काम ठप्प बन्यो ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले एकदिनमै निकाल्ने भनेर दाबीसम्म गरेका थिए । आफ्नो जिल्लाभन्दा बाहिरको विषयमा उनले त्यतिबेला निकै स्टन्ट गर्न भ्याए । तर, क्रुज दुई महिनादेखि त्यहीँ छ । क्रुजको प्रारम्भिक निरीक्षणमा पुलमा ठूलो खतरा नदेखिएको निष्कर्षपछि निकाल्ने प्रक्रिया सुस्ताउँदै गयो र चाडपर्वका लामा बिदाहरू सुरु भए ।
पानीमा तैरिनुपर्ने यसका मुख्य पङ्खाहरू (प्रोपेलर) अहिले नदीको सतहमा देखिन्छन् । क्रुजभित्र रहेका पर्यटकीय रेस्टुरेन्ट, पाहुना बस्ने ठाउँ र प्राविधिक उपकरणहरू पूर्ण रूपमा ध्वस्त भई काम नलाग्ने अवस्थामा पुगेका छन् । सुरुमा ठूलो उत्साह र पर्यटकीय सम्भावना बोकेर सञ्चालनमा आएको क्रुज अहिले नदी किनारमा कबाडजस्तै तेर्सिएर बसेको छ। नदीको पानीको सतह घटेपनि क्रुजलाई पन्छाउन सकिएको छैन ।
क्रुजलाई तत्कालै किनारमा ल्याउन नपाउँदा ठूलो भौतिक तथा आर्थिक क्षति बेहोर्नुपरेको सञ्चालक कम्पनी राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष दीपक ढुंगेलले बताए । मुख्य जलयानको भागको मात्रै करिब १० करोड रुपैयाँ बराबरको सोझो क्षति भएको उनको दाबी छ ।
क्रुजभित्रका होटेल र भौतिक पूर्वाधारको बिमा भएपनि मुख्य जलयानको पोलिसी नभएकाले क्षतिपूर्ति दाबीमा समेत कानुनी अल्झन थपिएको छ । दसैँ र तिहारका लामा बिदाहरू तथा स्थानीय प्रहरी र वडाबाट कानुनी मुचुल्का तयार पार्न समय लागेकाले क्रुज पन्छाउन ढिलाइ भएको सञ्चालक पक्षको जिकिर छ। अब क्रुजलाई साबिककै स्वरूपमा तानेर निकाल्न असम्भव भएकाले काटेर र टुक्राएर पन्छाउने तयारी भइरहेको अध्यक्ष ढुंगेलले बताए ।
सरकारी प्रयास असफल भएपछि प्रशासनले सञ्चालनलाई नै क्रुजको व्यवस्थापन गर्न भनेको छ । जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)ले नारायणी पुलको सुरक्षालाई ध्यानमा राख्दै क्रुजलाई तत्काल हटाउन सडक डिभिजन कार्यालय भरतपुरमार्फत कम्पनीलाई ताकेता गरेको थियो ।
पुलको पिल्लरमा क्रुज अड्किँदा पुलको सुरक्षामा जोखिम पर्न सक्ने भएकाले कम्पनीलाई अविलम्ब संरचना हटाउन पहिले नै निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले सुनाए । ‘हामीले स्थितिबारे निरन्तर अनुगमन र फलोअप गरिरहेका छौँ। कम्पनीले आफैँ काटेर हटाउने काम सुरु गर्ने जानकारी पाएका छौँ,’ उनले भने ।
नारायणीमा क्रुज अड्किने ताका चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले निकै हल्लाखल्लाका बीच क्रेनले ‘हुरुरु’ क्रुज तान्ने अभिव्यक्ति दिएका थिए । तर दुई महिना बित्नै लाग्दा पनि नारायणीको पिल्लरमै बेवारिसे क्रुज निकाल्नमा दुवैतर्फका प्रशासनको उस्तो चासो देखिँदैन ।
यसरी देशकै पहिलो जलपर्यटनको महत्त्वाकाङ्क्षी परियोजना आज नारायणीको छाल र पुलको पिल्लरबीच बेवारिसझैँ अड्किँदा एकातिर निजी क्षेत्रको करोडौँको लगानी डुबेको छ । अर्कातिर नदी पर्यटनका लागि आवश्यक सरकारी नीति र जोखिम व्यवस्थापनको कमजोरी स्पष्ट रूपमा सतहमा आएको छ।

