काठमाडौं । अमेरिकाको विमानवाहक युद्धपोत यूएसएस थियोडोर रुजवेल्ट मध्यपूर्व क्षेत्रमा आइपुगेको छ । यससँगै अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) को जिम्मेवारी क्षेत्रमा अमेरिकाका तीनवटा विमानवाहक युद्धपोत सञ्चालनमा रहेका छन् ।
अमेरिकी अधिकारीलाई उद्धृत गर्दै अलजजिराले जनाएअनुसार थियोडोर रुजवेल्ट मध्यपूर्वमा तैनाथ अमेरिकी नौसैनिक शक्तिमा सामेल भएको हो । यसअघि उक्त क्षेत्रमा दुईवटा अमेरिकी विमानवाहक युद्धपोत सञ्चालनमा थिए ।
६५ भन्दा बढी विमान बोक्ने क्षमता
यूएसएस थियोडोर रुजवेल्ट अमेरिकाको निमिट्ज क्लासको आणविक शक्तिबाट सञ्चालन हुने विमानवाहक युद्धपोत हो । सन् १९८६ अक्टोबर २५ मा अमेरिकी नौसेनामा समावेश गरिएको यो युद्धपोतको लम्बाइ करिब ३३३ मिटर र चौडाइ करिब ७७ मिटर छ ।
यसको तौल करिब ९५ हजार टन छ । युद्धपोतमा ६५ भन्दा बढी विमान राख्न सकिन्छ भने यसमा जहाज सञ्चालन गर्ने करिब २ हजार ८०० नौसैनिक र विमान सञ्चालन गर्ने करिब २ हजार सैनिकसहित झन्डै ४ हजार ८०० जनशक्ति रहन सक्छ ।
यसको उडान डेक करिब साढे चार एकड क्षेत्रफलको छ । दुईवटा आणविक रिएक्टरबाट शक्ति प्राप्त गर्ने यो युद्धपोतले ३० नटभन्दा बढी अर्थात् प्रतिघण्टा करिब ५६ किलोमिटरको गतिमा यात्रा गर्न सक्छ । आणविक इन्धन प्रणालीका कारण यसलाई लामो समयसम्म इन्धन भर्न नपरी सञ्चालन गर्न सकिन्छ ।
लडाकु विमानदेखि निगरानी विमानसम्म
यस युद्धपोतमा एफ/ए–१८ सुपर हर्नेट लडाकु विमान, एफ–३५सी स्टेल्थ लडाकु विमान, ईए–१८जी ग्राउलर इलेक्ट्रोनिक युद्ध विमान तथा ई–२डी हकआई हवाई निगरानी विमानजस्ता आधुनिक सैन्य विमान सञ्चालन गर्न सकिन्छ ।
एफ/ए–१८ सुपर हर्नेटले हवाई आक्रमण र जमिन तथा समुद्रमा रहेका लक्ष्यमा प्रहार गर्न सक्छ । एफ–३५सी स्टेल्थ विमान राडारबाट सजिलै पत्ता लगाउन कठिन हुने गरी डिजाइन गरिएको छ । ईए–१८जी ग्राउलरले शत्रुको राडार तथा सञ्चार प्रणालीमा अवरोध सिर्जना गर्न सक्छ भने ई–२डी हकआईले आकाशबाट टाढासम्मको निगरानी र सैन्य गतिविधिको सूचना संकलन गर्छ ।
यसका अतिरिक्त एमएच–६० हेलिकप्टरले पनडुब्बीविरुद्धको अभियान, समुद्री निगरानी तथा उद्धार कार्यमा सहयोग पुर्याउँछन् । विमानको वास्तविक संख्या र प्रकार भने प्रत्येक सैन्य तैनाथीअनुसार फरक हुन सक्छ ।
समुद्रबाटै हवाई सैन्य अभियान सञ्चालन
विमानवाहक युद्धपोतको मुख्य विशेषता समुद्रको जुनसुकै क्षेत्रमा पुगेर त्यहीँबाट हवाई सैन्य अभियान सञ्चालन गर्न सक्नु हो । यसले जमिनमा रहेको सैन्य हवाई अड्डामा निर्भरता कम गर्दै लडाकु विमान, निगरानी विमान र हेलिकप्टरलाई एउटै स्थानबाट परिचालन गर्न सक्छ ।
इरानसँगको युद्ध र स्ट्रेट अफ होर्मुजमा बढ्दो तनावका बीच अमेरिकाले मध्यपूर्वमा तीनवटा विमानवाहक युद्धपोत परिचालन गरेको छ । यसले उक्त क्षेत्रमा अमेरिकी नौसैनिक र हवाई सैन्य क्षमता थपिएको छ ।

