काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु बधशाला तथा मासु जाँच ऐनको कार्यान्वयन सुरु गरेको छ। आम उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको मासुजन्य खाद्य पदार्थको स्वच्छता, गुणस्तर र सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले मन्त्रालयले ऐन कार्यान्वयनलाई प्राथमिकताका साथ अघि बढाएको हो । २०८३ मंसिर १ गतेदेखि काठमाडौं उपत्यकाका तीन जिल्लाका विभिन्न स्थानमा पशु बधशाला तथा मासु जाँच ऐन कार्यान्वयनमा ल्याइएको हो ।
पहिलो चरणमा काठमाडौं उपत्यकाबाट स्वस्थ मासुमा छाप लगाउने कार्य सुरु गरिएको छ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले पशु बधशाला तथा मासु जाँच ऐन, २०५५ को संशोधन गरी कार्यान्वयनमा ल्याउनुभएको हो । मन्त्री चौधरीले मासुको स्वच्छता र गुणस्तर केवल खाद्य पदार्थको विषय मात्र नभई नागरिकको जीवन र स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकले उपभोग गर्ने मासु स्वच्छ, स्वस्थ र गुणस्तरीय हुनुपर्छ । यो विषय आम नागरिकको जीवन र प्रत्यक्ष स्वास्थ्यसँग जोडिएको छ । त्यसैले पशु बधशाला तथा मासु जाँच ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याइएको हो ।
यसको कार्यान्वयनलाई सुरुवातमा मात्र सीमित नराखी निरन्तरता दिने हाम्रो योजना छ ।” कुखुरा, राँगा र खसीको मासु परीक्षण गरी स्वस्थ मासुमा छाप लगाउने कार्यबाट यसको सुरुवात गरिएको हो । ऐनको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित स्थानीय तहले नियमित अनुगमन तथा निरीक्षण गर्नेछन् । यसबाट मासुको स्वच्छता र गुणस्तर कायम गर्न तथा उपभोक्ताको स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

