काठमाडौं । चीनले इरानको सार्वभौमिकता र सुरक्षाको समर्थन गर्दै तेहरानमाथि लगाइएका एकपक्षीय प्रतिबन्ध तत्काल हटाउन अन्तर्राष्ट्रिय समुदायसँग माग गरेको छ।
बुधबार संयुक्त राष्ट्रसंघको महासभाअन्तर्गत तेस्रो समितिको बैठकमा बोल्दै चिनियाँ प्रतिनिधिले मध्यपूर्वमा जारी द्वन्द्व लामो समयसम्म तन्किँदै क्षेत्रीय रूपमा फैलिरहेको भन्दै चिन्ता व्यक्त गरेका हुन्।
‘चीन इरानको सार्वभौमिकता र सुरक्षाको रक्षा गर्ने प्रयासको समर्थन गर्छ,’ चिनियाँ प्रतिनिधिले भने।
उनले इरानले आफ्नो विकासका लागि रोजेको बाटोको सम्मान गर्न र मानवअधिकारको बहानामा आन्तरिक मामिलामा हस्तक्षेप नगर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे।
त्यस्तै, इरानी नागरिकको अधिकार र जनजीवनमा असर पारिरहेका एकपक्षीय प्रतिबन्ध हटाउन तथा उनीहरूको जीवनस्तर थप कमजोर बनाउने गतिविधि रोक्न पनि चीनले आह्वान गरेको छ।
यसअघि इरानको मानवअधिकार अवस्थासम्बन्धी प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाको तेस्रो समितिमा मतदान भएको थियो। उक्त प्रस्तावको चीनले विपक्षमा मतदान गरेको थियो।
चिनियाँ प्रतिनिधिले मध्यपूर्वको जारी द्वन्द्व समाधानका लागि संवाद र वार्ता नै एकमात्र विकल्प भएको उल्लेख गर्दै सैन्य टकरावभन्दा कूटनीतिक पहललाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।

