८ क्रेडिट प्रयोगात्मक अध्ययन, ३ क्रेडिट इन्टर्नसिप र ४ क्रेडिट थेसिस समेटिएको पाठ्यक्रम; छात्रवृत्ति र अन्तर्राष्ट्रिय क्रेडिट ट्रान्सफरको व्यवस्थासमेत
काठमाडौं। बागमती विश्वविद्यालयले व्यवस्थापन तथा कानुन संकायअन्तर्गत सञ्चालन गर्न लागेको मास्टर अफ बिजनेस एडमिनिस्ट्रेसन (एमबीए) कार्यक्रममा शैक्षिक सत्र २०२६ का लागि भर्ना खुला गरेको छ। इच्छुक विद्यार्थीले आगामी मंसिर १८ गतेसम्म आवेदन दिन सक्ने विश्वविद्यालयले जनाएको छ।
काठमाडौँ । नेपालको कान्छो विश्वविद्यालयका रूपमा रहेको बागमती विश्वविद्यालयले सञ्चालन गर्न लागेको उक्त एमबीए कार्यक्रमलाई व्यावहारिक शिक्षा, अनुसन्धान, नेतृत्व विकास तथा अन्तर्राष्ट्रिय शैक्षिक अनुभवसँग जोड्ने गरी पाठ्यक्रम तयार गरिएको व्यवस्थापन तथा कानुन संकायका डिन डा. शिवराज अधिकारीले जानकारी दिनुभएको छ।
डा. अधिकारीका अनुसार एमबीए कार्यक्रमको पाठ्यक्रमलाई नेपालको विश्वविद्यालयहरूमा सञ्चालन भइरहेका यस्तै कार्यक्रममध्ये प्रतिस्पर्धी र व्यावहारिक पक्षलाई प्राथमिकता दिने गरी निर्माण गरिएको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावसायिक क्षेत्रमा आवश्यक पर्ने सीप, अनुभव र व्यवस्थापकीय क्षमता विकास गराउने कार्यक्रमको उद्देश्य रहेको उहाँले बताउनुभयो।
कार्यक्रमको पाठ्यक्रममा ८ क्रेडिटको प्रयोगात्मक अध्ययन, ३ क्रेडिटको इन्टर्नसिप र ४ क्रेडिटको थेसिस समावेश गरिएको छ। यसले विद्यार्थीलाई कक्षाकोठाको अध्ययनसँगै व्यावहारिक अनुभव र अनुसन्धानमा सहभागी गराउने अपेक्षा गरिएको डा. अधिकारीको भनाइ छ।
त्यस्तै, विद्यार्थीलाई व्यावसायिक क्षेत्रमा काम गर्ने अवसर प्रदान गर्ने उद्देश्यले पारिश्रमिकसहितको इन्टर्नसिप (Paid Internship) को व्यवस्था पनि कार्यक्रमअन्तर्गत समेटिएको उहाँले जानकारी दिनुभयो। विभिन्न संस्थासँगको सहकार्यमा विद्यार्थीलाई कार्यक्षेत्रको वास्तविक अनुभव दिलाउने लक्ष्य राखिएको छ।
एमबीए कार्यक्रमलाई अन्तर्राष्ट्रिय शैक्षिक अभ्याससँग जोड्ने विषयलाई पनि पाठ्यक्रममा प्राथमिकता दिइएको छ। डा. अधिकारीका अनुसार तेस्रो सेमेस्टरमा विदेशी विश्वविद्यालयहरूसँगको सहकार्यमा एकदेखि दुई क्रेडिटसम्म अध्ययन तथा शैक्षिक आदानप्रदान गर्न सकिने व्यवस्था मिलाउने अवधारणा समेटिएको छ। यसरी अध्ययन गरेका विषयको क्रेडिट आवश्यक प्रक्रिया पूरा गरी विद्यार्थीको शैक्षिक ट्रान्सक्रिप्टमा स्थानान्तरण गर्न सकिने प्रावधानसमेत राखिएको उहाँले बताउनुभयो।
यसका साथै विद्यार्थीलाई विभिन्न शैक्षिक तथा व्यावसायिक क्षेत्रको जानकारी गराउने उद्देश्यले एक्सपोजर भिजिटको व्यवस्था पनि गरिनेछ। यसबाट विद्यार्थीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवस्थापन अभ्यास, संस्थागत कार्यप्रणाली र व्यावसायिक वातावरणबारे जानकारी हासिल गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा अध्ययन गर्ने विद्यार्थीका लागि विभिन्न सरकारी निकाय तथा सम्बन्धित संस्थाहरूको सहयोगमा छात्रवृत्तिको अवसरसमेत उपलब्ध गराउने व्यवस्था रहेको डा. अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार एमबीए कार्यक्रममा विद्यार्थीको आकर्षण बढ्दै गएको र सीमित सिट तथा प्रतिस्पर्धात्मक छनोट प्रक्रियाका कारण प्रवेशका लागि प्रतिस्पर्धा रहनेछ।
भर्ना योग्यता र आवेदन प्रक्रिया
मान्यता प्राप्त विश्वविद्यालयबाट कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीले एमबीए कार्यक्रममा आवेदन दिन सक्नेछन्। आवेदनका लागि न्यूनतम २.०० जीपीए वा दोस्रो श्रेणी अथवा विश्वविद्यालयले तोकेको सोसरहको योग्यता आवश्यक पर्नेछ। स्नातक तहको नतिजा पर्खिरहेका विद्यार्थीले पनि तोकिएका सर्त पूरा गर्ने गरी आवेदन दिन सक्ने व्यवस्था छ।
विद्यार्थी छनोटका लागि लिखित प्रवेश परीक्षा तथा व्यक्तिगत अन्तर्वार्ता सञ्चालन गरिनेछ। इच्छुक विद्यार्थीले विश्वविद्यालयको अनलाइन पोर्टल ims.bagmatiuniversity.edu.np मार्फत आवेदन दिन सक्नेछन्। आवेदन शुल्क एक हजार रुपैयाँ तोकिएको छ।
उक्त शुल्क राष्ट्रिय वाणिज्य बैंकमा रहेको बागमती विश्वविद्यालयको आम्दानी खाता नम्बर 1300100202080201 मा जम्मा गर्नुपर्नेछ।
कार्यक्रमको पाठ्यक्रम, भर्ना प्रक्रिया तथा छनोटसम्बन्धी विस्तृत जानकारी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.bagmatiuniversity.edu.np मा उपलब्ध रहेको छ। थप जानकारीका लागि व्यवस्थापन तथा कानुन संकायको डिन कार्यालयको सम्पर्क नम्बर ९८६१९०१६०८ मा सम्पर्क गर्न सकिनेछ।
व्यावहारिक अध्ययन, अनुसन्धान, इन्टर्नसिप, छात्रवृत्ति तथा अन्तर्राष्ट्रिय शैक्षिक अवसरलाई समेटिएको एमबीए कार्यक्रममा सहभागी हुन विश्वविद्यालयले इच्छुक तथा योग्य विद्यार्थीलाई आवेदन दिन आग्रह गरेको छ।

