✍️शरद पौडेल
पहिले पहिले हाम्रो देशमा श्रीमतीले श्रीमानको नाम काढेर वोलाउन हुदैन भन्ने प्रचलन थियो । त्यसवेला अर्थात हजुरबाको पालामा केटाकेटीमा, विशेषत महिलाको रजस्वला पूर्व विवाह गर्ने प्रचलन थियो । जसले गर्दा ९-१० बर्ष भित्रै विवाह हुने प्रचलन थियो । विवाहपश्चात दुबैजना केटाकेटी भएका कारणले केटा बाबुसंग सुत्ने अनि श्रीमती केही समय, केही वर्ष माइती वस्ने प्रचलन थियो ।
लामो समय माइती वसेर घर फर्किएपछि श्रीमतीसंग लाजले होकी के हो कुन्नी श्रीमान श्रीमतीबीच हेराहेर हुन्थ्यो तर वोलचाल हुदैनथ्यो । मेरो गाउंमा धेरै हजुरबा पाटीका जोडीले वोलचाल नै नगरी जीवन विताएको पनि देखेको छु मैले । त्यसवेला दुवैले दुवैलाइ संबोधन गरेर वोलाएको कहिल्यै सुनेका थिएनौ । खाली कसैले श्रीमानको वारेमा सोधेमा श्रीमतीले चाही मेरो उहां, मेरो हजुर, स्वामी, प्राणनाथ भनि संबोधन गर्ने गर्थे भन्ने चाही सुनेका थियौ । अरू कुनै वेलापनि बोलचाल हुदैन थियो । यसरी संबोधन गर्नुपर्ने कारण त्यसवेला छोरीलाइ पढाउने चलन थिएन । त्यसैले हरवखत ज्वाइलाइ अति अदरभाव प्रकट गरिन्थ्यो र खुसी राख्ने चलन थियो । कारण ज्वाइले सौता ल्याउछन र छोरीले दुख पाउंछिन भनेर ।
पछिल्लो समय, हाम्रा बाको पालामा विवाहको उमेर पनि १२-१४ वर्ष पुग्यो । एक्लै भेटे जिस्कने तर अरू मानिस देखेमा नवोलेको जस्तो गर्ने अलि टाढाटाढा वस्ने प्रचलन आयो । अलिअलि हजुरबाको लिगेसी अलिअलि समयले ल्याएको परिवर्तनसंगै कतै दशैं, चाडबाड वा अन्य कुनै काममा श्रीमान श्रीमतीसंगै घरबाट निस्कन परे श्रीमान घरबाट पहिले निस्कने अनि एकछिनपछि श्रीमती निस्कने र पछिपछि लाग्ने चलन थियो । त्यो वेलामा यातायात नभएकोले अधिकांश ठाउमा हिडेरै जानु पर्ने थियो । यसरी हिडदै जांदा बाटोमा आफूले चिनेको मानिसले नदेखे दुवैजना टासिएर हिडने र यसैबीच कोही चिनेको मानिस देखिए फेरी छुट्टिएर अघिपछि गरेर हिडने प्रचलन थियो ।
त्यो वेला अर्थात बाको पालासम्ममा आइपुग्दा श्रीमानलाइ प्रायस बुढा, फलानाको बा, खसम, पोइ, पति, पतिदेव, श्रीमानज्यू भनि संबोधन गरी बोलाउने प्रचलन भयो । बाबुको पालामा आइपुग्दा विवाह गर्दा छोरीहरूले कति पढेको छ केटीले भनेर सोधेमा स्वस्थानीसम्म भन्न सक्छे भन्ने प्रचलन थियो । कारण मेरी छोरी पनि साक्षर छिन है भन्ने हुन्थ्यो ।
समयको परिवर्तनसंगै हाम्रो समयमा कानूनत विवाह गर्ने उमेरमा आएको वढोत्तरी, नयां तकनिकी, छोरीले पनि छोरासरह स्कूल, कलेज, विश्वविद्यालय पढने अवसर प्राप्त गर्नु, नोकरीमा समान अवसर र पहुंचले गर्दा हाम्रो पालासम्म अइपुग्दा समाजमा आमूल परिवर्तन भयो । जसले गर्दा पहिलेको जस्तो शिक्षा नभएकी छोरीलाइ लोग्नेले हेप्ला, सासु ससुराले हेप्लान भन्ने डरको अवस्था आज रहेन । जसले गर्दा छोरीहरूको पनि छोराहरू समान हरक्षेत्रमा बराबरी हिस्सेदारी वढन थालेपछि छोरीमा सामाजिक र पारिवारिक डर पनि कम भएर गयो । छोरीहरूको पनि छोराहरूसरह सबै क्षेत्रमा पहुंच हुने भएपछि श्रीमानले श्रीमतीलाइ पाल्नु पर्छ भन्ने अवधारणामा परिवर्तन आयो । जसले गर्दा श्रीमानको नाम श्रीमतीले काढनु हुदैन भन्ने समाज एक्कासी परिवर्तन भयो । जसले गर्दा अहिले श्रीमानलाइ नामैले वोलाउने प्रचलन रहन गयो । आजका दिनहरूमा नामबाटै वोलाउंदा श्रीमानश्रीमती दुवैलाइ सहज महशूस हुन थाल्यो । यसरी ज्यू हजुरीबाट सुरूभएको समाज नाम संबोधन गर्न र हजुरबाट तिमीमा पुग्न गयो । समयको कालक्रमसंगै यसरी भएको परिवर्तनले श्रीमानश्रीमतीको सम्वन्धलाइ नजिक वनाउन निकै सहयोगी सिध्द भएको छ भन्छन ।
तर अचेल कसैकसैले नामबाट वोलाएता पनि यदाकदा श्रीमानलाइ नामजी, थरजी, बो, बाबा, पापा, ड्याडीअदि संबोधन गरी बोलाएको पनि पाइन्छ ।
यसरी श्रीमानश्रीमतीबीच नामै नकाटी, बाचुन्जेल बोलचालै नगरी हाम्रा बाउबाजेको जीवन सकियो । छोरीलाइ दुखदेलान भनेर ज्वाइलाइ नारनको रूपमा मान्यो हाम्रो समाजले, आजको दिनसम्म आइपुग्दा संबोधनमा ज्वाइ नारनबाट ज्वाइ बाबुमा परिवर्तन भएको छ । यो नै छोरा र छोरीलाइ समान हैसियतमा राख्न सफल भएको प्रमाण हो भन्नुमा अत्युक्ति नहोला ।