
जेष्ठ ८, काठमाडौं । अनेरास्ववियु (नेपाल) को २४औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा बझाङका युवा नेता आकाश जेठारा देशकै कान्छा केन्द्रीय सदस्य बन्ने तयारीमा छन्। यसअघि २३औँ महाधिवेशनमा उनी देशकै कान्छो प्रतिनिधिका रूपमा सहभागी भएका थिए।
अनेरास्ववियुका संस्थापकमध्ये एक सुर्जन खरेलले जस्तै जेठारा पनि कक्षा ९ मा पढ्दादेखि नै संगठनसँग आबद्ध छन्। यो समानताले उनीभित्र नेतृत्वको अडान सानै उमेरदेखि विकसित हुँदै आएको देखाउँछ।
बुबा धन ब. जेठारा (नेपाल्या) र आमा स्व. हिरा देवी जेठाराको कोखबाट काठमाडौँको शिक्षण अस्पतालमा जन्मिएका आकाशले आफ्नो बाल्यकाल बझाङको सदरमुकाम चैनपुरमा बिताएका हुन्। श्री बाल विकास बोर्डिङ स्कुलदेखि श्री सत्यवादी मा.वि. भोपुरसम्मको शैक्षिक यात्रामा उनले नेतृत्वका धेरै पाइलाहरू कोरेका छन्।
२०८० सालमा SEE दिएका आकाश जेठारा श्री सत्यवादी मा.वि.मा अध्ययनरत रहँदा जूनियर रेडक्रस अध्यक्ष भएर जिल्लाभर पहिचान बनाएका थिए। उनले विद्यालयमा आयोजना गरेका स्वास्थ्य, सरसफाइ र सामाजिक सचेतनामूलक गतिविधिले समुदायमा सकारात्मक प्रभाव पारेको थियो। सोही नेतृत्वका आधारमा उनले बझाङ जिल्ला प्रतिनिधित्व गर्दै पोखरामासमेत सहभागिता जनाएका थिए।
सामाजिक सेवामा सक्रिय जेठारा, जब काठमाडौंमा बस्छन् भने बझाङबाट बिरामी आएको खबर पाएपछि अस्पतालमै पुगेर सहयोग गर्ने गर्छन्। आफू गृहजिल्लामा हुँदा त प्रायः रात पनि जिल्ला अस्पतालमै बित्थ्यो भन्नेहरू छन्।
यति सानो उमेरमै संगठन, समाज र नेतृत्वमा देखिएको जिम्मेवारीबोधले गर्दा आकाश जेठारा अबको पुस्ताका आशालाग्दा युवा नेताका रूपमा उदाउँदै छन्। उनीजस्ता समर्पित युवाले अबको अनेरास्ववियु अझ ऊर्जावान्, जनपक्षीय र नवनिर्माणशील बनाउने विश्वास धेरैको रहेको छ।