
काठमाडाैं । हालै सम्पन्न जेन–जी अभियन्ताहरूको आह्वानमा भएको आन्दोलनले मुलुकलाई गहिरो संकटमा पारे पनि अन्तरिम सरकारको गठनसँगै शान्तिपूर्ण अवतरण हुँदै देश विस्तारै सामान्यतर्फ फर्किँदैछ। यस आन्दोलनको क्रममा देखिएका दुखद एवं त्रासदीपूर्ण घटनामा अमूल्य जीवन गुमाएका होनहार युवाहरू र कर्तव्यपालनका क्रममा प्राण गुमाएका सुरक्षाकर्मीप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले उच्च सम्मान व्यक्त गर्दै गहिरो श्रद्धाञ्जली अर्पण गरेको छ।
सिबिफिनले आफ्ना सन्तानको वियोगमा शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ। विज्ञप्तिमा भनिएको छ, “विगतको महाभूकम्प र कोरोना महामारीपछिको जर्जर अवस्थाबाट उठ्दै अर्थतन्त्र गति लिँदै गर्दाको समयमा नयाँ नेपालको सपना बोकेका युवाहरूको पवित्र उद्देश्यसहितको आन्दोलनले दिएको स्पष्ट सन्देशलाई सिबिफिनले गहिरो अर्थमा लिएको छ।”
आन्दोलनका क्रममा निहित स्वार्थप्रेरित आक्रमण र हिंसाबाट सार्वजनिक, सरकारी तथा निजी सम्पत्तिमा भएको अपूरणीय क्षतिप्रति परिसंघ स्तब्ध रहेको उल्लेख गर्दै, अत्यासलाग्दो मानवीय एवं भौतिक क्षति हुँदाहुँदै पनि सुशासनयुक्त नवनेपाल निर्माणको नयाँ चरणमा प्रवेशका लागि यो आन्दोलन महत्वपूर्ण प्रस्थान बिन्दु बनेको बताइएको छ।
सिबिफिनले युवा पुस्ताको आवाज र आकांक्षालाई प्रतिनिधित्व गर्दै नवगठित सरकारसँग हातेमालो गरी शान्त, सुशासित र समुन्नत राष्ट्र निर्माणमा बैंक तथा वित्तीय क्षेत्र सदैव तत्पर रहने प्रतिबद्धता जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “निजी क्षेत्रमा शान्ति र सुरक्षाको प्रत्याभूति दिँदै मुलुकभित्रै लगानी, पेशा, व्यवसाय र रोजगारका अवसर विस्तार गर्ने उपयुक्त नीति तथा वातावरण निर्माणका लागि नवगठित सरकारले कुनै कसर बाँकी नराख्नेमा हामी विश्वस्त छौँ।”
त्यस्तै, बैंक तथा वित्तीय संस्थामा क्षति पुर्याउने तत्वहरूविरुद्ध कडा सतर्कता अपनाउन आग्रह गर्दै सिबिफिनले अर्थतन्त्रको आधारस्तम्भका रूपमा रहेका बैंक तथा वित्तीय संस्थाले आफ्ना सेवाहरू सहज रूपमा सञ्चालन गर्न सक्ने वातावरण निर्माणका लागि सरकार र सरोकारवालाहरूसँग सहयोगको अपिल गरेको छ।
सिबिफिनका वरिष्ठ उपाध्यक्ष तथा प्रवक्ताले जारी गरेको विज्ञप्तिमा अन्ततः जोड दिइएको छ, “सुशासनयुक्त नवनेपाल निर्माणको यात्रामा बैंक तथा वित्तीय क्षेत्र निरन्तर साथ र सहयोग गर्न प्रतिबद्ध छ।”


