१४ भदौ, काठमाडौं । चीन सरकारले नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ।
आइतबार बिहान करिब ७ बजे चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई-२० ठूला ट्रान्सपोर्ट विमानहरू उक्त राहत सामग्री लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार, विमानमार्फत आपत्कालीन राहत सामग्रीका साथै चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ पनि आवश्यक उद्धार उपकरणसहित नेपाल आइपुगेका छन्।
दूतावासका अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त सामग्री हस्तान्तरण गरिएको छ। राहत सामग्री हस्तान्तरण समारोहमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन, नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ र प्रतिनिधिसभा सदस्य धर्म केसीको उपस्थिति रहेको थियो। सो अवसरमा उनीहरूले नेपाल आइपुगेका चिनियाँ उद्धार विशेषज्ञहरूलाई स्वागत गरेका थिए।

