काठमाडौं । रोजगारी तथा व्यवसायका लागि काठमाडौंमा रहेका छोराछोरीसँगै बस्दै आएका नुवाकोट पञ्चकन्या गाउँपालिकाका ज्येष्ठ नागरिकहरूका लागि काठमाडौंमै सामाजिक सुरक्षा (वृद्धभत्ता) नवीकरण गर्ने व्यवस्था मिलाइएको छ।
तारकेश्वर नगरपालिका क्षेत्रमा रहेको अनुपम पार्टी प्यालेसमा सञ्चालित चार दिने शिविरमार्फत पञ्चकन्या गाउँपालिकाका पाँचवटै वडाका वडा सचिव र वडा नं. २ का वडा अध्यक्ष रामशरण श्रेष्ठको उपस्थितिमा नवीकरण सेवा प्रदान भइरहेको छ।

छोराछोरीहरू काममा व्यस्त हुने र बुवाआमालाई नवीकरणकै लागि गाउँसम्म लैजान समय तथा साधनको अभाव हुने समस्यालाई सम्बोधन गर्दै गाउँपालिकाले भदौ २३ देखि २६ गतेसम्मका लागि काठमाडौंमै शिविर आयोजना गरेको हो। शिविरबाट भदौ २५ गतेसम्म करिब ६५० भन्दा बढी ज्येष्ठ नागरिकले सेवा लिइसकेका छन्।
काठमाडौंमा नवीकरण गराउन आउनुभएकी मानकुमारी उप्रेती र उहाँकी बुहारी सावित्री बस्नेतले गाउँपालिकाको यस निर्णयले आफूहरूलाई ठूलो राहत मिलेको बताए। वडा अध्यक्ष रामशरण श्रेष्ठले आफैं खटिएर सेवा दिएकोमा ज्येष्ठ नागरिकहरूले आशीर्वाद समेत दिएका छन्।
प्रशासनिक सेवाका लागि नागरिकलाई गाउँसम्म धाउन बाध्य पार्नुको सट्टा जहाँ नागरिक छन् त्यहीँ पुगेर सेवा दिने पञ्चकन्या गाउँपालिकाको यो कदम स्थानीय सरकारको सेवामुखी चरित्रको उत्कृष्ट उदाहरण बनेको छ।

