काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक प्रतिस्पर्धाको खेलमैदान बन्न नहुने बताएका छन् । उनले नेपालको राष्ट्रिय हितलाई सर्वोच्च प्राथमिकतामा राख्दै स्वतन्त्र, असंलग्न र सन्तुलित विदेश नीति अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन्।
शनिबार आयोजित ‘काष्ठमण्डप संवाद’ शृङ्खाअन्तर्गत ‘नेपाल–चीन सम्बन्ध : सहकार्यका विस्तारित आयाम’ विषयक कार्यक्रममा सम्बोधन गर्दै खनालले बदलिँदो विश्व भूराजनीतिक परिस्थितिबीच नेपालले आफ्नो राष्ट्रिय स्वार्थ र हितलाई केन्द्रमा राखेर छिमेकी तथा मित्रराष्ट्रसँगको सम्बन्धलाई अघि बढाउनुपर्ने बताए।
उनले नेपाल र चीनबीचको सम्बन्धलाई आर्थिक विकास, पूर्वाधार निर्माण तथा कनेक्टिभिटीका क्षेत्रमा थप विस्तार गर्नुपर्ने धारणा राखे। विशेषगरी नेपाल–चीन सीमापार रेलवे तथा ट्रान्स–हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्क निर्माणलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने उनको भनाइ थियो।
खनालले बीआरआई फ्रेमवर्कलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै चिनियाँ लगानी नेपाल भित्र्याउने र चीनसँग सन्तुलित व्यापार सम्बन्ध विस्तार गर्ने दिशामा सरकारले स्पष्ट नीति लिनुपर्ने बताए। पूर्वाधार, पर्यटन, ऊर्जा, कृषि तथा प्रविधिका क्षेत्रमा सहकार्य बढाउन सके नेपालले त्यसबाट महत्वपूर्ण आर्थिक लाभ लिन सक्ने उनको भनाइ थियो।
चीनको आर्थिक विकास, गरिबी न्यूनीकरण तथा सामाजिक स्थायित्वका अनुभवबाट नेपालले महत्वपूर्ण पाठ सिक्न सक्ने खनालले बताए । नेपालले आफ्नो मौलिक आवश्यकता र परिस्थितिअनुसार विकासका सफल अभ्यासलाई उपयोग गर्नुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा खनालले जलवायु परिवर्तनका कारण नेपाल उच्च जोखिममा रहेको विषयलाई पनि प्राथमिकताका साथ उठाए। विश्वव्यापी तापक्रम वृद्धिमा नेपालको योगदान अत्यन्त न्यून भए पनि हिमाली क्षेत्र, हिमनदी तथा प्राकृतिक स्रोतमा जलवायु परिवर्तनको गम्भीर असर परिरहेको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायका लागि नेपालले अझ सशक्त आवाज उठाउनुपर्ने बताए।
उनले नेपालको भौगोलिक संवेदनशीलता र विकासको आवश्यकतालाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय सम्बन्धलाई राष्ट्रिय हितसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिए ।

