काठमाडौं । आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनका अध्यक्ष तथा शेर्पा ग्रुपका अध्यक्ष फुपु तेन्जिङ शेर्पा ‘उत्कृष्ट फेसन शिक्षा’ अवार्डबाट सम्मानित भएका छन्।
सेजन मिडिया प्रालिद्वारा आयोजित एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६ (सिजन–७) अन्तर्गत उनलाई उक्त अवार्ड प्रदान गरिएको हो।
काठमाडौंको कुपण्डोलस्थित होटल हिमालयमा आइतबार आयोजित समारोहमा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले शेर्पालाई अवार्ड प्रदान गरे।
फेसन शिक्षाको विकास, दक्ष जनशक्ति उत्पादन तथा नेपाली फेसन क्षेत्रको प्रवर्द्धनमा पुर्याएको योगदानको कदरस्वरूप शेर्पालाई उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।
शेर्पाको नेतृत्वमा सञ्चालित आईआईएफटीले नेपालमा फेसन तथा इन्टेरियर डिजाइन शिक्षालाई व्यावसायिक र व्यावहारिक रूपमा अघि बढाउँदै आएको छ। संस्थाले विद्यार्थीलाई डिजाइन, सिर्जनशीलता, उद्यमशीलता तथा प्रयोगात्मक अभ्यासमार्फत दक्ष बनाउँदै आएको छ ।
अवार्ड ग्रहण गर्दै शेर्पाले प्राप्त सम्मानले फेसन शिक्षाको क्षेत्रमा थप जिम्मेवारी र उत्साहका साथ काम गर्न प्रेरणा मिलेको बताए। उनले सम्मानलाई आईआईएफटीका शिक्षक, विद्यार्थी, पूर्वविद्यार्थी तथा सम्पूर्ण टोलीको सामूहिक प्रयासको कदरका रूपमा लिएको उल्लेख गरे।
नेपाली फेसनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन शिक्षा, सीप, प्रविधि र उद्योगबीचको सहकार्यनै आजको आवश्यक रहेको शेर्पाले बताए।

