काठमाडाैँ । सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संसद्को चालु अधिवेशन बिहीबार राति १२ बजेदेखि अन्त्य गर्ने निर्णय गर्दै सोसम्बन्धी पत्र राष्ट्रपति कार्यालयमा पठाएको हो।
नेपालको संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संघीय संसद्को अधिवेशन अन्त्य गर्ने व्यवस्था छ।
वैशाख २८ गतेदेखि सुरु भएको यस चालु अधिवेशनमा सरकारले बजेट तथा बजेटसँग सम्बन्धित कानुन निर्माण गरेको छ। यस अवधिमा संसद् नभएको बेला सरकारले ल्याएका अध्यादेश स्वीकृत भएका छन् भने तिनै अध्यादेशले संशोधन गरेका विषय समेटेर ल्याइएका प्रतिस्थापन विधेयकहरू पनि संसद्बाट पारित भएर ऐनमा रूपान्तरित भएका छन्।
