काठमाडौं । अपाङ्गता भएका महिलाहरूको महासंघ नेपालले Disability Rights Fund (FRF) को सहकार्यमा अपाङ्गता भएका महिलाहरूको क्षमता विकासको लागि लैङ्गिक हिंसा र न्यायमा पहुँच सम्बन्धी २ दिने तालिम काठमाडौँमा सम्पन्न गरेको छ । असोज १३ र १४ गते काठमाडौँमा आयोजना गरिएको उक्त तालिममा आयोजक संस्था अपाङ्गता भएका महिलाहरूको महासंघ नेपालकी महासचिव रमा ढकालले सहभागीहरूलाई स्वागत गर्दै अपाङ्गता भएका महिला तथा बालबालिलकाहरु माथि हुने विभिन्न प्रकारका लैङ्गिक हिंसाको पहिचान, रोकथाम तथा प्रतिकार्य सम्बन्धी ज्ञान र सीप अभिवृद्धि गराउने र उनीहरूको क्षमता विकास गराउने उद्देश्यले यस तालिमको आयोजना गरिएको बताउनु भयो ।
यस तालिमको पहिलो दिनमा आयोजक संस्था अपाङ्गता भएका महिलाहरूको महासंघ नेपालकी अध्यक्ष निर्मला धिताल र महासचिव रमा ढकाल, हिंसा, भेदभाव, बहु-आयामिक भेदभाव र लैङ्गिक समानताका विषयमा, नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष मिना पौडेलले अपाङ्गता भएका महिला तथा बालिका माथि हुने “लैङ्गिकतामा आधारित हिंसा” Gender-Based Violence का स्वरूप, कारण र प्रभावका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो ।
त्यसै गरी International Commission of jurists (icj) का कानुनी सल्लाहकार करुणा पराजुलीले हिंसा प्रभावित अपाङ्गता भएका महिला, बालबालिकाको अधिकार र संरक्षण (नेपालको कानुनी तथा नीतिगत व्यवस्था) का विषयमा, अधिवक्ता तथा अपाङ्गता अधिकारकर्मी मुकुन्द हरी दाहालले न्यायमा पहुँचका लागि निर्णय प्रक्रियामा सहयोग सम्बन्धी अवधारणा तथा व्यवस्था” का विषयमा र न्यायमा पहुँच आयोगका सदस्य तथा अधिवक्ता राजन कुमार के.सी.ले न्यायमा पहुँचका अवरोध, मार्गचित्र, स्थानीय सेवा पहिचान र समाधानका उपायहरूका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो ।
अपाङ्गता भएका महिलाहरूको महासंघ नेपालले असोज १३ र १४ गते काठमाडौँमा आयोजना गरेको अपाङ्गता भएका महिलाहरूको क्षमता विकासको लागि लैङ्गिक हिंसा र न्यायमा पहुँच सम्बन्धी २ दिने तालिमको दोस्रो दिन आयोजक संस्थाकी अध्यक्ष निर्मला धितालले अपाङ्गता भएका महिला तथा बालबालिका माथि भएका हिंसाका घटनाहरू अध्ययन, छलफल र समाधानका उपायहरूका विषयमा समूहगत छलफल गरी प्रस्तुतीकरण गर्नु भयो ।
यसै क्रममा उहाँले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन २०७४ का अनुसारका अधिकारहरूको बारेमा जानकारी दिँदै अपाङ्गता भएका महिलाहरूका यौन हिंसाका घटनाहरूमा गोपनीयता पीडितको सम्मान महत्त्वपूर्ण हुनु पर्ने, हरेक कुरामा गोपनीयता अपनाउनु पर्ने, भेदभाव गर्न नहुने, पीडितलाई संरक्षण र सुरक्षित राख्नु पर्ने, उनीहरूलाई शिक्षा, तालिम, रोजगार, आय-आर्जन प्रदान गरी पुनर्स्थापना गर्नु पर्ने कुरामा जोड दिनु भयो । यसै तालिमका क्रममा नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका कार्यकारी निर्देशक जगदीशप्रसाद अधिकारीले अपाङ्गता भएका महिला तथा बालबालिकाको संरक्षणमा सरोकारवालाहरू (एक द्वार सङ्कट व्यवस्थापन केन्द्र, स्थानीय तह, प्रहरी, अदालत, सरकारी वकिल र कानुनी सहायता संस्था) को भूमिका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
यसै क्रममा उहाँले एक द्वार सङ्कट व्यवस्थापन केन्द्रको बारेमा जानकारी दिँदै यसको व्यवस्थापन, स्थानीय तह, प्रहरी, सरकारी वकिलको भूमिका, सरोकारवाला बिचको समन्वयका विषयमा जानकारी गराउनु भयो । त्यसै गरी अपाङ्गता अधिकारकर्मी तथा अध्ययन अनुसन्धानकर्ता महेश्वर घिमिरेले अपाङ्गता भएका महिला, किशोरीका अधिकार सुनिश्चित गर्नका लागि पैरवी विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । साथै उहाँले अपाङ्गता भएका महिला माथि हुने हिंसा, न्यायमा पहुँचका सन्दर्भमा वकालत तथा कार्य योजनाका विषयमा प्रस्ट पार्नु भयो । उहाँले आफ्नो वा अरूको हक अधिकारको लागि बोल्ने, आवाज उठाउने र सम्बन्धित निकायलाई झकझकाउने काम नै पैरवी भएको र यसमा तथ्य र प्रमाण सहित आफ्ना कुरा सम्बन्धित निकायमा पुर्याइने कुरामा जोड दिनु भयो ।
साथै उहाँले प्रस्तुतीकरण क्रममा पैरवीको आवश्यकता, प्रकार, रणनीतिहरू, अनौपचारिक पैरवीका मुख्य ३ वटा चरणहरूका विषयमा पनि प्रस्ट पार्नु भएको थियो । उक्त २ दिने तालिममा अपाङ्गता भएका महिलाहरूको महासंघ नेपालका सदस्य संस्थाको नेतृत्व तहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । ती सहभागीहरूले अपाङ्गता मैत्री संरचना, न्यायमा पहुँच, सेवा सुविधाका लागि आ-आफ्नो क्षेत्रमा वकालत तथा पैरवी गर्ने बताउनु भयो ।
