ललितपुर । ॐ समाज डेण्टल हस्पिटलले आफ्नो पाँचौँ शाखा ललितपुरको चापागाउँ दोबाटोमा स्थापना गरेको छ। राजधानीका चावेल, नैकाप, बनस्थली र महोत्तरीको बर्दिबासमा शाखा सञ्चालन गर्दै आएको यस अस्पतालले अब ललितपुरवासीलाई पनि नजिकैबाट गुणस्तरीय दन्त सेवा उपलब्ध गराउने भएको हो । उद्घाटन कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, कलाकार र पत्रकारलाई सम्मान गरिएको थियो भने सोही अवसरमा निःशुल्क दन्त स्वास्थ्य परीक्षणसमेत गरिएको थियो ।
अस्पतालका डा. सुवास घिमिरेले कार्यक्रममा सम्बोधन गर्दै अस्पताल खोल्नुको मुख्य उद्देश्य डाक्टर भएर मात्र होइन समाजलाई बदल्ने सोचका साथ सेवा दिने रहेको बताए । उनका अनुसार अस्पताल भनेको केवल उपचार गर्ने स्थान मात्र नभई विचार, सोच र जीवनशैलीलाई सुधार गर्ने केन्द्र हुनुपर्छ । उनले भने, “मान्छेमा कथा बनाउने र बाँच्ने कला हुन्छ। ती कथाले जीवनलाई दिशा दिन्छन् । हामीले अस्पताल खोलेको कारण डाक्टर हुनु मात्र होइन विचारमार्फत समाज परिवर्तन गर्ने लक्ष्य हो ।”
डा. घिमिरेले स्वास्थ्यलाई सही ढंगले बुझ्नका लागि मानिसले शारीरिक मात्र नभई मानसिक र सामाजिक सन्तुलनमा ध्यान दिनुपर्ने औंल्याए। उनले भनाइ जोड्दै भने, “हामीले नेपाललाई नै स्वर्ग ठान्न सके हाम्रो सोचाइ सकारात्मक बन्छ। जसको दाँत सफा, उसको सोचाइ पनि सफा हुन्छ । दाँत ब्रस गरेर मात्र सफा हुँदैन, शरीर नै सफा हुनुपर्छ । डाक्टर जीवन बचाउँछ भन्ने होइन, जीवन बचाउने आधार त शारीरिक नियन्त्रण र जीवनशैली सुधार नै हो ।”
उनका अनुसार नियमित योग, खानपानमा नियन्त्रण, वाणी र सोचको सकारात्मक प्रभाव र आत्म–हेरचाह र अनुशासन नै स्वस्थ जीवनका आधार हुन् । उनले मुख स्वस्थ भए शरीर स्वतः स्वस्थ हुने कुरामा जोड दिए । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मोहन निरौलाले ॐ समाज डेण्टल हस्पिटलले जनस्वास्थ्य क्षेत्रमा खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै ललितपुरमा शाखा स्थापना हुनु स्थानीयका लागि वरदान भएको बताए ।
त्यस्तै, कार्यक्रममा उपस्थित वरिष्ठ कलाकार रविन्द्र खड्काले स्वास्थ्य सेवा सबैभन्दा ठूलो मानव सेवा भएको भन्दै ॐ समाजले सुरु गरेको अभियान समाजलाई सशक्त बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । उनले भने, आजको युगमा स्वास्थ्य सेवा सबैभन्दा जरुरी आवश्यकता हो । ॐ समाजले सुरु गरेको यस्तो कामले जनतालाई राहत मात्र होइन, सचेतना र भरोसा पनि दिन्छ ।
कार्यक्रमको सम्पूर्ण व्यवस्थापन सामाजिक अभियन्ता तथा पत्रकार राजन थापाले गरेका थिए । उनी यस संस्थाका बोर्ड सदस्य पनि हुन् र समाजसेवा तथा स्वास्थ्य क्षेत्रमा लामो समयदेखि सक्रिय रहदै आएका छन् । थापाले यस अवसरमा हस्पिटलको सामाजिक उद्देश्य र सेवा प्रवद्र्धनमा आफ्नो प्रतिबद्धता व्यक्त गरे । चापागाउँ शाखा अस्पताल गुणस्तरीय, सुलभ र विश्वासिलो स्वास्थ्य सेवा दिने उद्देश्यका साथ सञ्चालनमा आएको थापा बताउँछन् ।
उद्घाटन समारोहमा बोल्दै राजन थापाले भने, हामी स्वास्थ्य सेवामा गुणस्तरीय पहुँच र समाजमा सचेतना बढाउने उद्देश्यले यो हस्पिटलको सेवा विस्तारमा प्रतिबद्ध छौं । हाम्रो लक्ष्य स्वास्थ्य सेवा सबैका लागि पहुँचयोग्य बनाउनु हो ।
यस उद्घाटन समारोहमा २० जना पत्रकार र ५ जना सामाजिक अभियानतालाई विशेष सम्मान प्रदान गरिएको थियो । समारोहमा सम्मानितहरूले स्वास्थ्य सेवा प्रवर्धन र समाजका लागि पुर्याएको योगदानको प्रशंसा गर्दै, उनीहरूको भूमिका र मेहनतको कदर गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

