काठमाडौं । एन्जल्स हार्टले १३औँ ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फको उपाधि जितेको छ । बाफलस्थित ग्रिनफिल्डको हलमा शनिबार भएको फाइनलमा एन्जल्स हार्टले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ३५–२० अंकले पराजित गर्दै च्याम्पियन बनेको हो ।
एन्जल्स हार्टको जितमा सौरव श्रेष्ठ र अविरल सापकोटाले समान १४–१४ अंकको योगदान गरे । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका सौरव श्रेष्ठ जुनियर ब्वाइजतर्फ ‘मोस्ट भेलुएबल प्लेयर’ समेत घोषित भए । प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ताको उपाधि भने इबीएका प्रसुन श्रेष्ठले हात पारे ।
यस्तै, तेजस्वी एकेडेमीले जुनियर ब्वाइजतर्फ अनुशासित टिमको ट्रफी जित्यो । साउन २३ गतेदेखि सुरु भएको प्रतियोगितामा जुनियर ब्वाइजतर्फ १६ टोलीले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । विजेता एन्जल्स हार्टलाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङलगायतले पुरस्कार प्रदान गरे ।

