नुवाकोट। भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको आकस्मिक बाढीले सिर्जित समस्या समाधानका लागि विदुर नगर कार्यपालिकाले विभिन्न निर्णयहरू सार्वजनिक गरेको छ।
भदौ २१ गते बसेको कार्यपालिकाको १३४ औँ बैठकले बाढी प्रभावितहरूको राहत, पुनःस्थापना तथा विद्यालय सञ्चालन सम्बन्धी निर्णयहरू गरेको हो।
निर्णय अनुसार विदुर नगरपालिकाभित्र बस्न योग्य घर नभएका नगरवासीलाई नगरपालिकाले घर भाडामा लिई बस्नका लागि तत्काल प्रतिपरिवार १० हजार रुपियाँका दरले रकम उपलब्ध गराउनेछ। यसका साथै प्रभावित परिवारलाई आवश्यक खाद्यान्न, लत्ताकपडा, किचेन सेट र हाइजिन सेट जस्ता सामग्रीसमेत प्रदान गरिनेछ। कोठा वा घर भाडामा लिँदा-दिँदा कसैले प्रचलित भाडादरभन्दा बढी लिएको पाइएमा प्रचलित कानून अनुसार कारबाही हुने चेतावनी दिइएको छ।
बाढीपीडितको पुनःस्थापनाका लागि तीनै तहका सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्था र दाताहरूको सहकार्यमा अस्थायी आवास निर्माण गरिनेछ। यसैगरी अस्थायी आवास केन्द्र (होल्डिङ सेन्टर) नभएका विद्यालयहरूमा भदौ २४ गतेबाट पठनपाठन पुनः सञ्चालन गरिनेछ। होल्डिङ सेन्टर सञ्चालनमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका हकमा भने केही दिनभित्रै विस्थापितलाई अन्यत्र व्यवस्थापन गरी विद्यालय सञ्चालनमा ल्याइनेछ।
विदुर नगरपालिकाभित्र सञ्चालित होल्डिङ सेन्टरमा रहेका अन्य जिल्ला तथा पालिकाका भोटेकोशी बाढी प्रभावित नागरिकहरूलाई व्यवस्थापन गर्न सम्बन्धित जिल्ला तथा पालिकाहरूलाई आग्रह गर्ने निर्णयसमेत नगरपालिकाले गरेको छ।

