काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सरकार ठूला भाषण गर्न नभई जनताको आशा, सुशासन र परिवर्तनको सपना पूरा गर्न आएको बताएका छन् ।
नयाँ बानेश्वरस्थित पुरानो संसद भवनमा आयोजित जेन–जी सहिद दिवस कार्यक्रममा बोल्दै उनले आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको बलिदानलाई कुनै पनि हालतमा खेर जान नदिने बताए ।
सहिद परिवार र घाइतेप्रति राज्य जिम्मेवार बन्नुपर्ने उल्लेख गर्दै गुरुङले आफूलाई मन्त्रीभन्दा पनि सहिद परिवारको आफ्नै सदस्यका रूपमा हेर्न आग्रह गरे ।
उनले भदौ २३ को आन्दोलन सत्ता र शक्तिका लागि नभई सुशासन र परिवर्तनका लागि भएको दाबी गर्दै आन्दोलनको इतिहासलाई तोडमोड नगर्न पुराना राजनीतिक दलहरूलाई चेतावनी दिए ।
‘सरकारको लक्ष्य सत्ता टिकाउनु होइन, जनताको सेवा गर्नु हो,’ उनले भने, ‘भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँछौँ ।’
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको योगदानको प्रशंसा गर्दै उनले सुरक्षा निकायलाई राजनीतिक स्वार्थका लागि प्रयोग हुन नदिने प्रतिबद्धता जनाए ।
युवा पुस्ताले देशलाई नयाँ दिशामा लैजाने दाबी गर्दै गुरुङले अब भाषणभन्दा काम गरेर जनताको विश्वास जित्ने बताए ।

