काठमाडौं । सुरक्षित, व्यवस्थित तथा वैज्ञानिक बस्ती विकासमार्फत दिगो सहरीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘सिजी प्रोपर्टिज नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी–२०८३’ आयोजना हुने भएको छ । नेपाल जग्गा तथा आवास विकास संघ (NLHDA) र नेपाल जग्गा तथा आवास विकास महासंघ (NLHDF) को संयुक्त आयोजनामा हुने उक्त एक्स्पो आगामी असोज १ देखि ४ गतेसम्म (सेप्टेम्बर १७–२०, २०२६) काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा सञ्चालन हुनेछ ।
नेपाल चेम्बर अफ कमर्सको ७५औँ हिरक जयन्तीको अवसरमा चेम्बरको सहकार्यमा आयोजना हुन लागेको एक्स्पोको व्यवस्थापन सिया इभेन्ट एसोसिएट्स प्रालिले गर्नेछ। एक्स्पोको टाइटल स्पोन्सर सिजी प्रोपर्टिज/सिजी होल्डिङ्स, पावर्ड बाइ स्पोन्सर एशियन पेन्ट्स तथा इन्स्योरेन्स पार्टनर प्रभु इन्स्योरेन्स रहेका छन् । Smart Paani, KB तथा UHS Holdings लगायत संस्थाहरू सहयोगी निकायका रूपमा रहेका छन् ।
एक्स्पोको पूर्वसन्ध्यामा बिहीबार होटल हिमालयमा आयोजक, प्रदर्शक तथा सञ्चारकर्मीबीच विशेष भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ.। सन् २००९ देखि निरन्तर आयोजना हुँदै आएको यो एक्स्पोले भूकम्प, कोरोना महामारी तथा आर्थिक शिथिलताका बीच पनि आफ्नो निरन्तरता कायम राखेको आयोजकले जनाएको छ । यसपटकको प्रदर्शनीमा काठमाडौं उपत्यकाभित्र तथा बाहिरका स्वदेशी कम्पनीसँगै भारतका कम्पनीहरूको समेत सहभागिता रहनेछ ।
एक्स्पोमा १०० भन्दा बढी प्रदर्शनी स्टल रहने र सबै स्टल बुकिङ भइसकेको आयोजकले जानकारी दिएको छ । प्रदर्शनीमा अपार्टमेन्ट तथा संयुक्त आवास, जग्गा विकास योजना, आधुनिक निर्माण सामग्री, सिमेन्ट, स्टिल, काठ, सिसा, पेन्ट्स, सेनिटरी सामग्री, विद्युतीय उपकरण, इन्टेरियर डिजाइन, सौर्य ऊर्जा, वर्षाको पानी संकलन तथा फोहोर व्यवस्थापनका आधुनिक प्रविधि प्रदर्शन गरिनेछन्। वातावरणमैत्री प्रविधिलाई प्राथमिकता दिँदै डिजिटल स्ट्यान्डी, इलेक्ट्रोनिक कियोस्क तथा भर्चुअल रियालिटी (VR/AR) प्रविधिको प्रयोगमार्फत प्रदर्शनीलाई ‘पेपरलेस’ बनाइने आयोजकले जनाएको छ ।
सामाजिक उत्तरदायित्वमा जोड आयोजक संस्थाले व्यावसायिक गतिविधिसँगै राष्ट्रिय विपद्का समयमा सामाजिक उत्तरदायित्वसमेत निर्वाह गर्दै आएको जनाएको छ । हालै रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि खाद्यान्न, लत्ताकपडा, औषधि तथा अन्य राहत सामग्री पठाइसकिएको र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३१ लाख नगद सहयोग हस्तान्तरण गरिएको जानकारी दिइएको छ । विज्ञ परामर्शदेखि स्वास्थ्य सेवासम्म एक्स्पोमा भूकम्प प्रतिरोधी घर निर्माण तथा वास्तुशास्त्रसम्बन्धी विज्ञबाट अवलोकनकर्तालाई निःशुल्क परामर्श उपलब्ध गराइनेछ ।
मेला परिसरमा रक्तदान कार्यक्रमसमेत आयोजना गरिनेछ। त्यस्तै, ओम हस्पिटल तथा ग्राण्डी इन्टरनेशनल हस्पिटलको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनेछ भने रसुवाका बाढी प्रभावित नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचार प्याकेज उपलब्ध गराउने तयारी गरिएको छ । एक्स्पो अवधिभर नीति निर्माणमा संलग्न सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, इन्जिनियर तथा आर्किटेक्टहरूको सहभागितामा जलवायु परिवर्तन, विपद्–प्रतिरोधी पूर्वाधार, सुरक्षित बस्ती पुनरुत्थान तथा सार्वजनिक–निजी साझेदारी (PPP) लगायतका विषयमा सेमिनार तथा प्यानल छलफलसमेत आयोजना गरिनेछ ।
युवा उद्यमी प्रवर्द्धनलाई समेत प्राथमिकता दिइएको एक्स्पोमा भर्खरै उद्यम स्थापना गरेका तथा चुनौती सामना गरिरहेका युवाहरूलाई खुला आह्वानमार्फत छनोट गरी आवश्यक तालिम तथा परामर्श प्रदान गरिने आयोजकले जनाएको छ । रियल इस्टेट क्षेत्रमा तरलता सहज बन्दै गएको र ब्याजदर घट्दो क्रममा रहेको अवस्थामा उपभोक्तालाई उपयुक्त वित्तीय निर्णय लिन, सुरक्षित लगानी गर्न तथा घरजग्गासम्बन्धी जानकारी प्राप्त गर्न एक्स्पो महत्वपूर्ण साझा मञ्च बन्ने आयोजकको विश्वास छ ।
एक्स्पोले रियल इस्टेट क्षेत्रका नीतिगत तथा कानुनी सुधारका लागि समेत सरकारी निकाय, निजी क्षेत्र र सरोकारवालाबीच संवादको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ । चार दिनसम्म चल्ने प्रदर्शनीमा ६५ हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अनुमान गरिएको छ। आयोजकले एक्स्पोमा उपभोक्ता, लगानीकर्ता, निर्माण व्यवसायी, उद्योगी तथा सञ्चारकर्मीलाई सक्रिय सहभागिताका लागि आह्वान गरेको छ ।

