काठमाडौं । चाडपर्व नजिकिँदै जाँदा नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सहज हुने गरी नयाँ व्यवस्था गरेको छ । अब बैंक तथा वित्तीय संस्थाका एटीएम मेसिनबाटै १०० रुपैयाँका नोटसमेत निकाल्न पाइने भएको छ ।
चाडपर्वका समयमा साना दरका नोट सटही गर्न बैंकका शाखा तथा काउन्टरमा हुने अत्यधिक भीडलाई कम गर्न राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन र नेपाल वित्त कम्पनी संघलाई पत्र पठाउँदै आफ्नामातहतका बैंक तथा वित्तीय संस्थाका एटिएमबाट १०० रुपैयाँ दरका नोटसमेत वितरण हुने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
राष्ट्र बैंकका सहायक प्रवक्ता सुधा शाहका अनुसार एटीएमबाट १०० रुपैयाँ दरका नोट वितरण गर्ने आवश्यक व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइएको हो ।
हाल अधिकांश बैंक तथा वित्तीय संस्थाका एटीएमबाट ५ सय र १ हजार रुपैयाँ दरका नोट मात्रै निकाल्न सकिन्छ ।
नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि साना दरका नोट आवश्यक पर्ने सर्वसाधारणले एटीएमबाटै १ सय रुपैयाँ दरका नोट निकाल्न सक्नेछन् । यसले विशेषगरी दशैँ तथा अन्य चाडपर्वका समयमा बैंकका काउन्टरमा हुने भीड कम हुने अपेक्षा गरिएको छ ।

