काठमाडौं । निरन्तर पुँजीबजार कमजोर बन्दै गएपछि सरकारको आलोचना भइरहेको थियो । बजारबाट लगानीकर्ता भाग्दै गइरहेका थिए । बजार पुँजीकरणमा ह्रास आइरहेको थियो । यी सबैबीच सोमबार अर्थ मन्त्रालयले ‘पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना–२०८३’ सार्वजनिक गर्यो । त्यसको सकारात्मक प्रभाव बजारमा देखिएको छ ।
उक्त नीतिमा चालू आवको बजेटले बढाएको पुँजीगत लाभकर घटाउनेदेखि आईपीओ निष्कासनसम्मका २१ वटा बुँदा उक्त कार्ययोजनामा समावेश छन् । यी विषयले धेरै हदसम्म पुँजीबजारलाई त्राण मिल्ने लगानीकर्ताले बताएका छन् ।
आज नेप्से ४८.५७ अंकले बढेसँगै नेप्से परिसूचक २६३३.६२ बिन्दुमा बन्द भएको छ । २६५ वटा कम्पनीको मूल्य बढ्यो भने १२ वटाको घट्यो ।
नेप्सेसँगै कारोबार रकम दोब्बर जतिले बढेको छ । हिजो ४ अर्ब ६८ करोड रुपैयाँबराबरको सेयर कारोबार भएकामा आज ८ अर्ब २९ करोड पुगेको छ ।
धौलागिरि लघुवित्तको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सिन्धु विकास बैंकको मूल्य ११.०३ प्रतिशतले बढ्दा अरू कम्पनीको वृद्धि ९.७३ प्रतिशतभन्दा कम छ ।
यस दिन रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक धितोपत्र खरिदबिक्री भएको छ । कम्पनीले ३० प्रतिशत नगद लाभांश दिने घोषणा गरेपछि लगानीकर्ता नाफा बुक गर्न यो स्टकमा झुम्मिएका हुन् । आज मात्रै यो कम्पनीको ३२ करोड ७० लाखभन्दा बढीको धितोपत्र किनबेच भएको छ ।
