काठमाडौं । पृथ्वीराजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत कृष्णभीरमा नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको छ ।
प्रधानमन्त्री बालेन शाहले शाहले यही भदौ १७ गते प्रतिनिधिसभामा रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सरकारले सञ्चालन गरेको खोज, उद्धार, उपचार तथा राहत व्यवस्थापनबारे जानकारी दिने क्रममा कृष्णभीरमा अवरुद्ध सडक भदौ महिनाभित्रै सञ्चालनमा ल्याउने घोषणा गरेका थिए ।
सोही घोषणाअनुसार पूर्वाधार विकास मन्त्रालयको नेतृत्वमा भदौ २८ गतेदेखि कृष्णभीरमा परीक्षणका रूपमा यातायात सञ्चालन भइसकेको छ । अब असोज १ गते बिहीबारदेखि उक्त सडकखण्डमा दुईतर्फी यातायात सञ्चालन गरिने भएको छ ।
भदौ १० गते बिहान आएको बाढीले कृष्णभीरको सुरक्षा पर्खालमा क्षति पुर्याएको थियो । त्यसपछि भदौ १४ गते आएको अर्को बाढीले पर्खाल नै भत्काएपछि उक्त सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
सडक अवरुद्ध भएपछि पूर्वाधार विकास मन्त्रालयले सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीका प्राविधिकको सहयोगमा चार दिनसम्म द्रुत अध्ययन गरेको थियो । अध्ययनपछि विज्ञहरूले कृष्णभीरको पहाड काटेर २५० मिटर लामो नयाँ ट्रयाक निर्माण गर्ने विकल्पलाई प्राथमिकतामा राखेर सुझाव दिएका थिए ।
विज्ञहरूको सुझावअनुसार भदौ १९ गतेदेखि रुख कटानको काम सुरु गरिएको थियो । त्यसपछि ३५ मिटर उचाइ र २० मिटरसम्म भित्र पहाड काटेर नयाँ ट्रयाक निर्माण गरिएको हो ।
ट्रयाक निर्माणमा प्राविधिकसहित ५० जनाको टोलीले दैनिक १२ देखि १६ घण्टासम्म निरन्तर काम गरेको थियो । काम सुरु भएको १०औँ दिन अर्थात् भदौ २८ गतेदेखि ग्यास बुलेटसहित केही सवारीसाधनलाई परीक्षणका रूपमा सञ्चालन गरिएको थियो । त्यसयता बिहान र बेलुका अत्यावश्यक सवारीसाधन आवतजावत गरिरहेका छन् ।
हाल सडकखण्डमा ग्राभेल गर्ने, नाली निर्माण गर्ने तथा सडकलाई थप मजबुत बनाउने काम भइरहेको छ । ग्राभेलको काम भोलिसम्म पूरा गर्ने लक्ष्य राखिएको छ । त्यसपछि असोज १ गते बिहीबार बिहानदेखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गरिने भएको छ ।

