काठमाडौं। विश्व शान्ति दिवसको अवसरमा बाढीपहिरो तथा प्राकृतिक विपत्तिमा परी दिवंगत भएकाहरूको चिरशान्तिको कामना गर्दै काठमाडौंको बौद्धस्थित बौद्धनाथ महाचैत्य परिसरमा दीपप्रज्वलन, मौनधारण तथा शान्ति हस्ताक्षर संकलन कार्यक्रम सम्पन्न भएको छ ।
लुम्बिनी पीस अवार्ड संस्थाको आयोजना तथा मेलम्ची ध्याङ्ग गुठीको सहयोगमा आयोजित कार्यक्रममा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै शान्ति, करुणा र मानवीय सहयोगको सन्देश प्रवाह गरिएको थियो।
कार्यक्रममा प्रोफेसर तथा मनोविज्ञ उजेलिया रञ्जितकारले बाढीपहिरोबाट पीडित नागरिकले भोगिरहेको मानसिक पीडा र मनोदशालाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। प्राकृतिक विपत्तिपछि पीडितमा देखिन सक्ने मानसिक तनाव तथा मनोसामाजिक समस्यालाई समयमै सम्बोधन गर्न आवश्यक रहेको बताउँदै उहाँले आवश्यकताअनुसार संस्थागत तथा व्यक्तिगत रूपमा मनोपरामर्श सेवा प्रदान गर्न सकिने धारणा व्यक्त गर्नुभयो।
त्यसैगरी अन्तर्राष्ट्रिय बौद्धिक सेन्टरका अन्तर्राष्ट्रिय अध्यक्ष Steward Cheongले विश्व शान्ति दिवसको सन्दर्भमा बौद्ध दर्शन, शान्ति, करुणा तथा प्राकृतिक विपत्ति र वातावरणबीचको सम्बन्धबारे मन्तव्य दिनुभयो। उहाँले प्रकृति र मानवबीचको सन्तुलन तथा शान्तिपूर्ण सहअस्तित्वको आवश्यकतामा जोड दिनुभयो।
कार्यक्रममा लुम्बिनी पीस अवार्ड संस्थाका अध्यक्ष आर. के. शाक्यले बौद्ध दर्शनले शान्ति, करुणा र प्रेमको सन्देश दिएको उल्लेख गर्दै समाजमा शान्ति र मानवताको सेवामा योगदान गर्ने समाजसेवी तथा शान्तिप्रेमी व्यक्तित्वहरूको उचित कदर र सम्मान हुनुपर्नेमा जोड दिनुभयो। उहाँले प्राकृतिक विपत्तिमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति सहानुभूति र सहयोगको भावना विकास गर्नुपर्ने बताउनुभयो।
कार्यक्रमका अतिथि पूर्वउपमेयर तथा पूर्वमन्त्री मा. हरिप्रभा खड्कीले नेपालमा बाढीपहिरोबाट प्रभावित नागरिकको अवस्था र उनीहरूलाई आवश्यक सहयोगका विषयमा मन्तव्य दिनुभयो। चीनका कूटनीतिज्ञ दिनेश खनालले प्राकृतिक विपत्ति तथा त्यसबाट हुने मानवीय क्षतिका विषयमा धारणा राख्नुभयो। त्यसैगरी बौद्ध क्षेत्र विकास समितिका अध्यक्ष सुरेन्द्र वज्राचार्यले बौद्ध शिक्षा, शान्ति र करुणाको माध्यमबाट समाजमा सद्भाव तथा मानवीय भावना विकास गर्नुपर्ने बताउनुभयो।
कार्यक्रममा महास्थविर प्रशन्न भन्ते तथा भिक्षु गुरूमा डा. प्रमिला शाक्यबाट बौद्ध पाठ गरिएको थियो। त्यसपछि बाढीपहिरो तथा प्राकृतिक विपत्तिमा दिवंगत भएकाहरूको चिरशान्तिको कामना गर्दै दीपप्रज्वलन तथा मौनधारण गरिएको थियो।
कार्यक्रममा सहभागीहरूले कपडाको ब्यानरमा शान्तिको पक्षमा हस्ताक्षर संकलन गर्दै विश्व शान्ति, करुणा, वातावरण संरक्षण तथा प्राकृतिक विपत्तिका पीडितप्रति ऐक्यबद्धताको सन्देश दिएका थिए।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव रामचन्द्र मानन्धरले गर्नुभएको थियो। आयोजकका अनुसार बौद्धनाथ महाचैत्य परिसरमा सम्पन्न कार्यक्रमले दिवंगतप्रति श्रद्धाञ्जली, पीडितप्रति सहानुभूति र विश्वमा शान्ति, करुणा तथा मानवताको भावना अभिवृद्धि गर्ने उद्देश्यलाई अघि सारेको थियो।

