काठमाडौं । नेपाली कांग्रेस काठमाडौं–५ प्रदेश ‘क’ को सभापतिमा रामप्रसाद न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन्। असोज १० गते हुने अधिवेशनलाई लक्षित गर्दै न्यौपानेले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्। काठमाडौं महानगरपालिका–४ का दुई कार्यकाल इकाई सभापति रहिसकेका न्यौपाने पार्टी संगठनमा लामो समयदेखि सक्रिय छन्।
साथै उनी सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष तथा समाजसेवीका रूपमा समेत परिचित छन्। वडा तहदेखि संगठन निर्माणमा सक्रिय न्यौपानेले प्रदेश ‘क’ को नेतृत्व पाए कार्यकर्ता एकता, संगठन विस्तार, युवाको सहभागिता र पार्टीलाई थप चलायमान बनाउने एजेन्डालाई प्राथमिकता दिने बताएका छन्। “पदभन्दा संगठन बलियो बनाउने मेरो मुख्य उद्देश्य हो।
सबै कार्यकर्तालाई समेटेर कांग्रेसलाई थप सुदृढ र जनमुखी बनाउने अभियानमा अघि बढ्छु,” न्यौपानेले भने। उनको उम्मेदवारीसँगै कांग्रेस काठमाडौं–५ प्रदेश ‘क’ को अधिवेशनमा नेतृत्व चयनको चर्चा थप बढेको छ।

