काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दुई महिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ। अभियानको नेकपाका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालले शनिबार पार्टी कार्यालय पेरिसडाँडाबाट सुरुवात गरेका छन्।
अभियान अन्तर्गत उक्त पार्टीका केन्द्रीय नेताहरूको नेतृत्वको टोली गाउँ, वडा र टोलसम्म पुग्नेछन् । त्यसक्रममा उनीहरुले किसान, श्रमजीवी, मजदुर, युवा, विद्यार्थी, महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, अल्पसङ्ख्यक समुदाय, फरक क्षमता भएका नागरिक, पिछडिएका क्षेत्रका जनता, बुद्धिजीवी, शिक्षक, कर्मचारी, उद्यमी तथा व्यवसायीसँग प्रत्यक्ष संवाद गर्ने संयोजक प्रचण्डले जानकारी दिए । उनका अनुसार अभियानका क्रममा नेता कार्यकर्ताहरूले जनताका समस्या, गुनासा, सुझाव र आलोचना सुन्नेछन् ।
जनतासँगको संवाद र भेटमा उनीहरुले महँगी, बेरोजगारी, कालोबजारी, भ्रष्टाचार, आर्थिक असुरक्षा, सार्वजनिक सेवामा हुने ढिलासुस्ती, सुकुमबासी र श्रमिकका समस्या तथा वैदेशिक रोजगारीसँग सम्बन्धित कठिनाइबारे तथ्य र अनुभव सङ्कलन गर्नेछन् ।
‘हामी अभियानका क्रममा जनताले भोगेका समस्यालाई स्थानीय, प्रदेश र सङ्घीय तहका सम्बन्धित निकायसमक्ष पुर्याउने, आवश्यकताअनुसार मागपत्र तथा ज्ञापनपत्र प्रस्तुत गर्ने र समाधानका लागि निरन्तर पहल गर्नेछौँ’, संयोजक प्रचण्डले अभियानबारे जानकारी दिँदै भने, ‘जनताबाट प्राप्त गुनासाको अभिलेख राख्ने तथा समाधानका लागि भएका प्रयासको प्रगतिबारे जनतालाई जानकारी दिने अभ्याससमेत अघि बढाउनेछौँ ।’
त्यसक्रममा जनताका समस्या सुन्ने मात्र नभएर समाधानका सम्भावना पनि पहिचान गरिने नेकपाले जनाएको छ। ‘हाम्रो उद्देश्य जनताका समस्या सुनेर फर्कनु मात्र होइन, समाधानका सम्भावना पहिचान गर्नु र त्यसका लागि जिम्मेवारीपूर्वक पहल गर्नु हो’, अभियानको शुभारम्भ गर्दै प्रचण्डले भनेका छन्।
दुई महिने अभियान अन्तर्गत केन्द्रीय कार्य संयोजन समितिका सदस्यहरूले देशभरिका विभिन्न जिल्लाहरूको समन्वय गर्ने जिम्मेवारीसहित मतदाता रहेका प्रदेशहरूमा खटिनेछन्। त्यसैगरी उनीहरुले प्रदेशको समन्वयमा सम्बन्धित प्रदेशभित्रका जिल्लाका पार्टी समितिसँग नियमित सम्पर्क, मार्गदर्शन, अनुगमन तथा समन्वय कायम गर्नुपर्नेछ।
‘पार्टीका सबै केन्द्रीय सदस्य, प्रदेश, जिल्ला र स्थानीय तहसम्मका नेता तथा कार्यकर्ताहरू आआफ्नो मतदाता नामावली रहेको क्षेत्रमा परिचालित हुनुपर्नेछ’, नेकपाले अभियान सुरु गर्नुअघि जारी गरेको अन्तरपार्टी निर्देशन ५ मा भनिएको छ।
‘गत निर्वाचनमा उम्मेदवार रहेका नेताहरू आफू उम्मेदवार रहेको निर्वाचन क्षेत्रमा खटिनुहुनेछ’, प्रवक्ता प्रकाश ज्वालाले भने, ‘प्रादेशिक जिम्मेवारीमा रहनुभएका नेताहरू पनि आआफ्नो निर्वाचन क्षेत्र र केन्द्रीय सदस्यहरूले पालिका र वडा तहमा सञ्चालित अभियान टोलीको नेतृत्व गर्नुहुनेछ।’ अभियान मंसिर २५ गते समापन हुनेछ।