काठमाडौँ। भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित विद्यार्थीहरूलाई सहयोग पुर्याउने उद्देश्यका साथ नेपाल इन्भाइरोन्मेन्टल ट्रेक्स एन्ड एक्स्पेडिसनले नुवाकोटको बट्टारस्थित आर्किड एकेडेमीमा शैक्षिक सामग्री वितरण गरेको छ।

अक्टोबर २७, २०२६ मा आयोजित एक कार्यक्रमका बीच बाढीका कारण अभिभावक गुमाएका तथा घरबारविहीन भई अभिभावकविहीन अवस्थामा पुगेका विद्यार्थीहरूलाई कापी, कलम लगायतका अत्यावश्यक शैक्षिक तथा सिकाइ सामग्री हस्तान्तरण गरिएको हो। बाढीको कठिन परिस्थितिमा पनि आर्किड एकेडेमीले प्रभावित बालबालिकाहरूलाई निरन्तर अध्यापन गराउँदै आएको छ।
उक्त राहत तथा सहयोग कार्यक्रम मलेसियाली नागरिक माहेश्वरी (Maheshwari) तथा उनका साथीहरूको आर्थिक सहयोगमा सम्पन्न भएको हो। नेपालमा पटक-पटक साहसिक तथा सांस्कृतिक भ्रमणका लागि आउने माहेश्वरीले नेपालप्रति देखाएको यो आत्मीयता र सहयोग उदाहरणीय रहेको संस्थाले जनाएको छ।

कार्यक्रम सम्पन्न गर्न सहयोग पुर्याउने स्थानीय समाजसेवी रामबाबु न्यौपाने तथा आर्किड एकेडेमीका प्रिन्सिपल रामहरि रिमाललाई संस्थाले विशेष धन्यवाद व्यक्त गरेको छ।

बाढीबाट प्रभावित विद्यार्थीहरूलाई हस्तान्तरण गरिएको शैक्षिक सामग्रीले उनीहरूको पठनपाठनमा प्रोत्साहन मिल्नुका साथै नयाँ आशा र आत्मविश्वास जगाउने विश्वास लिइएको छ।

