चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) ले हाइब्रिड धानको अनुसन्धान तथा उत्पादन प्रवर्द्धनका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । विश्वविद्यालयको एग्रोनोमी फार्ममा सञ्चालन गरिएको नेपाली हाइब्रिड धानको प्रदर्शन खेतीबाट यस वर्ष प्रतिहेक्टर ६.८ टन धान उत्पादन भएको छ । विश्वविद्यालयको कृषि फार्ममा हाइब्रिड धानको बाली भित्र्याउने कार्यक्रमसमेत सफलतापूर्वक सम्पन्न भएको छ ।
नेपालमा हाइब्रिड धानको अनुसन्धान, परीक्षण तथा व्यावसायीकरणलाई थप प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको यस पहलमा चोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेस (Chongqing Academy of Agricultural Sciences) को सहकार्य तथा सहयोग रहेको छ । यस सहकार्यले नेपालमा हाइब्रिड धानको उत्पादन क्षमता पहिचान, अनुसन्धान विस्तार र आधुनिक कृषि प्रविधिको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
विश्वविद्यालयले आगामी दिनमा एकीकृत पोषक तत्त्व व्यवस्थापन प्रणालीलाई प्रवर्द्धन गर्ने, सम्भावनायुक्त हाइब्रिड धानका विभिन्न जातहरूको परीक्षण तथा मूल्याङ्कन गर्ने र उपयुक्त जातहरूको दर्ता प्रक्रिया अघि बढाउने योजना बनाएको छ । त्यसैगरी, कृषि अनुसन्धान तथा नवप्रवर्तनलाई संस्थागत रूपमा अगाडि बढाउन विश्वविद्यालयले बौद्धिक सम्पत्ति तथा पेटेन्ट अधिकार केन्द्र स्थापना गर्ने तयारीसमेत गरेको छ ।
उक्त केन्द्रले कृषि क्षेत्रमा विकसित नयाँ प्रविधि, अनुसन्धानका उपलब्धि तथा आविष्कारहरूको संरक्षण र प्रविधि हस्तान्तरणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा. डा. ऋषिराम कट्टेलले यस उपलब्धिलाई नेपालको कृषि अनुसन्धान, प्रविधि विकास र धान उत्पादन वृद्धिका दृष्टिले महत्त्वपूर्ण उपलब्धिका रूपमा लिनुभएको छ । उहाँले हाइब्रिड धानको अनुसन्धान, परीक्षण र व्यावसायीकरणलाई थप विस्तार गर्दै नेपालको कृषि उत्पादन क्षमता अभिवृद्धि गर्ने दिशामा विश्वविद्यालय प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ ।
नेपालको खाद्य सुरक्षालाई थप सुदृढ बनाउन धानको उत्पादकत्व वृद्धि, उन्नत बीउको विकास, आधुनिक कृषि प्रविधिको प्रयोग र अनुसन्धानमा आधारित उत्पादन प्रणाली आवश्यक रहेको सन्दर्भमा विश्वविद्यालयको यो पहललाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।
