साउन २६, काठमाडौं । देशको पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि आफूहरु तयार रहेको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बताएका छन् ।शनिबार एकता होटल तथा गेष्टहाउस व्यवसायी संघ, नेपालले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
मुख्यमन्त्री लामाले वागमती प्रदेश सरकारले पर्यटन क्षेत्रमा लगानी गर्ने नाममा फजुल खर्च गरेको पाइएको उल्लेख गर्दै अब भने त्यस्तो गल्ती नगर्ने बताए । उनले पर्यटकलाई आकर्षित गर्ने गन्तव्य स्थलहरुको निर्माण गरेर उनीहरुलाई आकर्षित गर्न सकिने भएकाले त्यसमा प्रदेश सरकारले विशेष ध्यान दिने बताए ।
मुख्यमन्त्री लामाले विभिन्न खालको पर्यटकहरु नेपाल आउने भएकाले उनीहरुको चाहना अनुसारको गन्तव्य स्थलहरुको निर्माणमा पनि प्रदेश सरकारले काम गर्ने बताए । उनले व्यवसायीहरुको समस्या समाधान गरेर अघि बढन प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।
मुख्यमन्त्री लामाले पर्यटकहरुलाई आकर्षित गर्नका लागि समाजलाई समेत सचेत गराउन आवश्यक रहेको बताए ।