काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह समकालीन नेपाली राजनीतिमा कमै गाली खानेमध्येमा पर्छन् । फेसबुक र ट्विटरमा मात्रै २४ लाख बढी फलोअरसहितका उनलाई गरिने कमेन्ट अक्सर प्रशंसा गरिएका नै हुन्छन् ।
तर उनै बालेनले मंगलबार सामाजिक सञ्जाल एक्समा राखेको फोटोसहितको एउटा पोस्टका कारण आलोचना खेप्नु परेको छ ।
कारण थियो, आफूलाई कीर्तिमानी आरोहीका रुपमा चिनाउँदे आएका निर्मल पुर्जा (निम्स) लाई आफ्नो कार्यकक्षमै गरिएको स्वागत । यो स्वागत र भेटघाटको सन्दर्भ पनि हिमआरोहणसँगै जोडिएको थियो ।
इण्डोनेसीयाको कार्सटेन्ज पिरामिड आरोहण गरेर आरोही पुर्जा गत कात्तिक ९ गते नेपाल फर्किए । उनले कार्सटेन्ज पिरामिड आरोहण गरेर नयाँ कीर्तिमान राखेका थिए । कार्सटेन्ज पिरामिड विश्वको सात शिखरमध्ये एक हो। इन्डोनेसियामा पपुवा प्रान्तमा अवस्थित कार्सटेन्ज पिरामिड चुचुरोमा उभिएर सेभेन समिट च्यालेन्ज पूरा गरेपछि उनी नेपाल फर्किएका थिए ।
दुई वर्ष चार महिना र २८ दिनमा विश्वका १४ अग्ला चुचरा अक्सिजनबिना आरोहण गरी उनले यही अक्टोबर २ मा विश्व कीर्तिमान कायम गरेका थिए। त्यसपछि कार्सटेन्ज पिरामिड आरोहण गरेर सेभेन समिट सबै चुचुर उक्लेर उनी नेपाल फर्किएका थिए ।
त्रिभुवन विमानस्थलबाटै भब्य स्वागत पाएपछि हौसिएका उनै निर्मल पुर्जा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई भेट्न पुगे । पुर्जासँगको भेटको तस्बिर शाहले मंगलबार सामाजिक सञ्जालमा हालेका थिए ।
पुर्जासँगको तस्बिर एक्समा हाल्दै उनले भनेका थिए, ‘१४ वटा शिखर आरोहण गर्दा प्रयोग गरेको ऐतिहासिक आइस एक्सका लागि दाजु निर्मल पुर्जालाई धन्यवाद !’