
स्पेन । गैर आवासीय नेपाली संघ (एनआरएनए) स्पेनको नवौं राष्ट्रिय महाधिवेशनमा प्रमुख अतिथि बनेका नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले विदेशमा रहेका नेपालीले आर्जन गरेको अनुभव र पुँजी देशको विकासमा लगाउनुपर्नेमा जोड दिएका छन् । उनले विदेशमा बस्ने नेपालीहरूलाई आफ्नो नेपालीपन नछाड्न पनि आग्रह गरे ।
एनआरएनए स्पेनले गरेको समन्वय र सहकार्यको प्रशंसा गर्दै डा. महतले दोस्रो पटक बार्सिलोना आउन पाउँदा खुसी व्यक्त गरे ।
‘Nepalese’ होइन, ‘Nepali’ पहिचानको सम्मान
डा. महतले नेपालीको सही पहिचानका लागि ‘Nepalese’ को सट्टा ‘Nepali’ लेख्न सुरु गरिएको स्मरण गराए । उनले मन्त्रिपरिषद्बाट यो निर्णय गराएको र आज विदेशमा पनि यसको प्रयोग देख्दा गर्व महसुस भएको बताए ।
लोकतन्त्रले बढायो आत्मविश्वास र अवसर
लोकतन्त्रको स्थापनापछि नेपाली समाजमा ठूलो परिवर्तन आएको बताउँदै उनले भने, “पहिले भाग्यमा विश्वास गर्ने नेपाली अहिले अधिकार खोज्न सक्ने भएका छन्। लोकतन्त्रले नागरिकहरूमा आत्मविश्वास जगाएको छ।” उनले २०४५ सालमा फुलब्राइट छात्रवृत्तिका लागि छनोट भए पनि पासपोर्ट नपाएको र २०४६ सालको जनआन्दोलनपछि मात्रै विदेश जान पाएको आफ्नो अनुभव पनि सुनाए।
विदेशमा कमाएको अनुभव र पुँजी देशको लागि
नेपालबाट युवा पलायन हुनुको मुख्य कारण देशभित्र पर्याप्त अवसरको कमी भएको उनको भनाइ छ । उनले विदेश पलायनबाट प्राप्त हुने शिक्षा, अनुभव र पुँजीलाई सकारात्मक पक्षको रूपमा लिँदै, अब ती सबै देशको विकासमा फर्काउनुपर्नेमा जोड दिए। उनले दक्षिण कोरियाको उदाहरण दिँदै भने, “हाम्रो मन नेपालमै छ, मौका पाए धेरै नेपाली आफ्नो भूमिमा फर्कनेछन्।”
डा. महतले सामाजिक सञ्जालले नागरिकलाई सशक्त बनाए पनि यसका चुनौतीहरू पनि रहेको औंल्याए। “झूटो कुरा बारम्बार दोहोर्याउँदा त्यसलाई नै सत्य मानिने खतरा छ,” उनले भने । उनले बीपी कोइरालाको भनाइ उद्धृत गर्दै, “जब सत्यको मुख बन्द हुन्छ, झूटोको थुतुनो चल्छ,” भन्दै सत्य थाहा पाएकाहरू चुप लाग्न नहुने बताए।
नेपालको विकास ढिलो सुरु भएको ऐतिहासिक पृष्ठभूमि प्रस्तुत गर्दै डा. महतले भने, “७५ वर्षअघि नेपालमा बाटो थिएन, साक्षरता २ प्रतिशतभन्दा कम थियो। आज हरेक बच्चा स्कुल जान्छन् र औसत आयु पनि ५४ बाट ७३ वर्ष पुगेको छ।” उनले राजनीतिमा केही उतारचढाव भए पनि नेपाल गलत बाटोमा नगएको र विकासको दिशा भने सही रहेको बताए ।
उनले नेपालको समृद्धिको यात्रालाई तीव्र बनाउन राजनीतिक दलहरूलाई राष्ट्र र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्न आह्वान गरे । उनले देश बनाउनका लागि सबैको एकताबद्ध प्रयास आवश्यक रहेको बताए ।
