
काठमाडौं । नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महिलाहरु सिङगो देशको नेतृत्व गर्दै मुलुकमा सकारात्मक परिवर्तन गर्न सक्षम रहेको बताएकी छन् । मंगलबार काठमाडौंमा आयोजित शी लिड्स आइकनको दोस्रो संस्करणका लागि चयन गरिएका ३१ जना प्रेरणादायी महिला जनप्रतिनिधिसम्बन्धी पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले वर्तमान पुस्ताकी महिला जनप्रतिनिधिहरू सक्षम, दृढ र जनताप्रति प्रतिबद्ध रहेको उल्लेख गरिन् ।
उनले भनिन्, “दुःख र संघर्ष गरेर एउटा महिला सक्षम र सफल भएर जनप्रतिनिधिका रूपमा काम गर्न कति कठिन छ भन्ने हामीले भोगेका छौं । अस्तव्यस्त जीवन, बच्चा र परिवारप्रतिको माया एकातिर राखेर निर्वाचित जनप्रतिनिधिको हैसियतमा निस्वार्थ भावले खटिँदा आशावादी हुन सकिन्छ। त्यसैले महिला नेतृत्वले नै सिङगो देशको परिवर्तन गर्न सक्छ भन्ने विश्वास पलाएको छ ।”
कार्यक्रमबारे जानकारी दिँदै उनले दोस्रो संस्करणमा सहभागी हुन १३१ जनाले फाराम भरेकोमा अध्ययन, मूल्यांकन र छानबिनपछि ३१ महिला जनप्रतिनिधि छनोट गरिएको बताइन् । शाक्यका अनुसार यी ३१ प्रेरणादायी महिलाहरू निष्पक्ष न्याय, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत क्षेत्रमा प्रभावकारी योजना र योगदानका लागि चिनिएका छन् ।


