
मंसिर २८, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडीलाई गोल्छा ग्रुपले पल्सर मोटरसाइकल प्रदान गरेको छ ।
‘टु ह्विलर पार्टनर’ रहेको गोल्छा ग्रुपअन्तर्गतको हंसराज हुलासचन्द एण्ड कम्पनीले शनिबार एनपीएल दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडी रोहितकुमार पौडेल, सन्दीप लामिछाने, र शेर मल्ललाई पल्सर N160 मोटरसाइकल पुरस्कारस्वरुप प्रदान गरेको हो ।
रोहितकुमार पौडेल (लुम्बिनी लायन्सका कप्तान): उनले सबैभन्दा बढी २ सय ७६ रन बनाएबापत पल्सर मोटरसाइकल प्राप्त गरे। उनको टोली लुम्बिनी लायन्सले एनपीएल दोस्रो संस्करणको उपाधि जितेको थियो।
सन्दीप लामिछाने (विराटनगर किंग्सका कप्तान): उनलाई पनि पल्सर मोटरसाइकल प्रदान गरिएको हो। उनले यस सिजनमा सबैभन्दा बढी १७ विकेट लिएका थिए।
शेर मल्ल (लुम्बिनी लायन्स): यस सिजनका इमर्जिङ प्लेयर घोषित भएका उनलाई पनि पल्सर मोटरसाइकल (N160) प्रदान गरिएको छ। उनले टुर्नामेन्टमा सानदार बलिङ गर्दै १७ विकेट लिएका थिए।
गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले कम्पनीले खेललाई प्राथमिकता दिँदै आएको र सम्झौताअनुसार उत्कृष्ट खेलाडीलाई मोटरसाइकल दिन पाउँदा खुसी लागेको बताए। उनले ब्रान्डलाई खेलसँगै जोडेर अघि बढाउन कम्पनी सधैं प्रतिबद्ध रहेको धारणा व्यक्त गरे।
यसअघि कात्तिक १३ गते गोल्छा ग्रुप र नेपाल क्रिकेट संघ (क्यान)बीच एनपीएलका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गर्ने सम्झौता भएको थियो।
कीर्तिपुर अन्तर्राष्ट्रिय रंगशालामा मंसिर १ गतेदेखि सुरु भएको एनपीएलको दोस्रो संस्करण मंसिर २७ गते शनिबार सम्पन्न भएको छ।

