काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्रबहादुर शाहीले सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमहरूको निरन्तरताबाहेक अरु नभएको टिप्पणी गरेका छन् ।
मंगलबारकाे प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले नयाँहरूबाट नयाँ कार्यक्रमको अपेक्षा भए पनि केही नआएको तर्क गरे ।
‘मेरो हातमा दुईवटा किताब छ। एउटा २०८१ सालमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुभएको सरकारको नीति तथा कार्यक्रम र अर्को हिजो सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुभएको २०८३ सालको नीति तथा कार्यक्रम। यी दुवै हुबहु एउटै छ। अघिल्लोमा २१७ बुँदा छन् भने अहिलेकोमा १०० बुँदा छन्।। ११७ बुँदा कम छ। तर दुवै फोटोकपी गरेजस्ता छन्,’ उनले भने, ‘लेख्ने मान्छे एउटै परेर यस्तो भएको हो कि!’
संसदमा नयाँ युवा अनुहारहरू प्रवेश गर्दा नीति तथा कार्यक्रम पनि फरक हुनुपर्ने तर त्यस्तो नभएको उनले बताए।
‘झन्डै १० प्रतिशत मात्र परिवर्तन होला। लेख्ने मान्छे त एउटै रहेछ। पढ्नुस् न घर गएर एकपल्ट, मज्जाले पढ्दा हुन्छ। हुबहु एउटै छ। एक-दुई वटा कुरा फरक छ। तर हामीले व्यापक सुधार हुनुपर्छ भनेका थियौं। किनभने सबै युवाहरू आएका थियौं नि। नयाँ-नयाँ साथीहरू आएका थियौं। पार्टी जुनसुकै होस् तर नयाँ अनुहार छ यहाँ,’ उनले भने।
