
काठमाडौं । टोखा नगरपालिकाको आयोजनामा “श्रमको सम्मान राष्ट्रको अभियान” अन्तर्गत श्रमिकको हक–अधिकार सुनिश्चित गर्ने उद्देश्यले श्रमिक अधिकारसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । नगर प्रमुख प्रकाश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराई, नगर प्रवक्ता बच्चुराज बस्याल लगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
साथै विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुख तथा वडा सचिवहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा श्रम तथा रोजगार क्षेत्रसँग सम्बन्धित निकायका प्रतिनिधिहरूले श्रमिकमाथि हुने अन्याय, समस्या तथा समाधानका उपायबारे विस्तृत छलफल गरेका थिए ।
सहभागी वक्ताहरूले श्रमिकको सम्मान, सुरक्षा र अधिकार सुनिश्चित गर्न स्थानीय तहले अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख प्रकाश अधिकारीले टोखा नगरपालिका भित्र कार्यरत कुनै पनि श्रमिक अन्यायमा परेमा श्रम डेस्कमा जानकारी गराउन आग्रह गर्दै श्रमिक न्यायका लागि नगरपालिका सधैं प्रतिबद्ध रहेको स्पष्ट पारे ।
त्यस्तै, श्रम तथा रोजगार कार्यालयका प्रमुख उदय कुमार गुप्ताले श्रमिक अधिकार, कानुनी व्यवस्था तथा श्रमसम्बन्धी प्रक्रियाबारे अभिमुखीकरण प्रदान गरेका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले पनि आफ्ना अनुभव, चुनौती र सुझाव प्रस्तुत गरेका थिए । श्रमिकका गुनासा सुन्ने, दर्ता गर्ने र समाधान गर्ने प्रक्रियालाई थप सुदृढ बनाउने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।
श्रमिकहरूको अथक मेहनत र योगदानलाई कदर गर्दै ७० जना भन्दा बढी श्रमिकलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रम पूर्ण रूपमा श्रममैत्री र श्रमिकको हक–अधिकारप्रति केन्द्रित रहेको थियो । कार्यक्रममा सहभागी श्रमिकहरूलाई सम्मान गर्दै उनीहरूको श्रम र समर्पण नै समाज र राष्ट्र निर्माणको आधार भएको उल्लेख गरिएको थियो ।
कार्यक्रमको सहजीकरण राेजगार संयाेजक सिर्जना आचार्यले गरेकी थिइन् भने स्वागत मन्तव्य विश्वास नेपालकी कार्यक्रम संयोजक सीता पाण्डेले राखेकी थिइन् । टोखा नगरपालिकाले यस्ता कार्यक्रममार्फत श्रमिकमैत्री वातावरण निर्माण गर्दै न्यायमा सहज पहुँच सुनिश्चित गर्ने विश्वास व्यक्त गरेको छ ।


