काठमाडौं । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपाल का महासचिवले प्रधानमन्त्रीलाई लक्षित गरी सार्वजनिक कार्यक्रममा व्यक्त गरेका अमर्यादित अभिव्यक्तिप्रति दुःख व्यक्त गर्दै ती सम्पूर्ण शब्द फिर्ता लिएको बताएका छन्।
बैशाख ३१ गते आयोजित एक कार्यक्रममा भूमिहीन तथा सुकुम्बासी समुदायमाथि भइरहेको उठिवास, धरपकड र होल्डिङ सेन्टरमा भइरहेको व्यवहारप्रति आक्रोश व्यक्त गर्ने क्रममा आफूबाट आवेगमा केही अपशब्द प्रयोग भएको स्वीकार गर्दै महासचिवले सोमबार प्रेस विज्ञप्ति जारी गरेका हुन्।
विज्ञप्तिमा लामो समयदेखि काठमाडौँ उपत्यका सहित देशभरका सुकुम्बासी नागरिकहरू छाना, खाना र आधारभूत अधिकारबाट वञ्चित हुँदै आएको उल्लेख गरिएको छ। राज्य तथा स्थानीय प्रशासनले वैकल्पिक व्यवस्था नगरी बस्ती हटाउने र जबर्जस्ती उठिवास गराउने कार्यले समुदायमा गम्भीर पीडा सिर्जना गरेको जनाइएको छ।
महासचिवले लोकतान्त्रिक मूल्य, शिष्टता र जिम्मेवार नेतृत्वको मर्यादा कायम राख्नु आफ्नो कर्तव्य भएको उल्लेख गर्दै आक्रोशको क्षणमा प्रधानमन्त्री पदको गरिमामाथि असर पर्ने गरी व्यक्त भएका शब्द उचित नभएको आत्मसात गरेको बताएका छन्।

