काठमाडौं । मलेसियाली अटोमोबाइल कम्पनी प्रोटोनले विद्युतीय सवारी (ईभी) उत्पादन क्षमता विस्तार गर्दै नेपालमा पनि नयाँ मोडल भित्र्याउने तयारी गरेको छ । नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले प्रोटोन ई।मास ७ को सफल बजार प्रवेशपछि आफ्नो ईभी पोर्टफोलियो थप विस्तार गर्ने योजना अघि बढाएको हो ।

कम्पनीका अनुसार नेपाली बजारमा प्रोटोन ई।मास ७ ले छोटो समयमै सकारात्मक प्रतिक्रिया प्राप्त गरेपछि नयाँ विद्युतीय मोडलहरू ल्याउने तयारी तीव्र रहेको बनाइएको छ । प्रोटोनले मलेसियामा विद्युतीय सवारी बिक्रीमा उल्लेखनीय वृद्धि हासिल गरेको छ । सन् २०२६ को जनवरीदेखि अप्रिलसम्मको अवधिमा कम्पनीको ईभी बिक्री ३२९ प्रतिशतले बढेको तथा चार महिनामै ११ हजार ६१७ भन्दा बढी सवारी ग्राहकलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

बढ्दो मागलाई सम्बोधन गर्न प्रोटोनले तान्जुङ मालिमस्थित ईभी उत्पादन केन्द्र विस्तारका लागि ३७ मिलियन मलेसियन रिङ्गिट लगानी गर्ने घोषणा गरेको छ । यससँगै कम्पनीले वार्षिक उत्पादन क्षमता बढाएर ४२ हजार युनिट पुर्‍याउने लक्ष्य लिएको छ ।

जगदम्बा मोटर्सका अनुसार नेपालमा प्रोटोन ई.मास ७ प्रति देखिएको उत्साहले नेपाली उपभोक्ताको विद्युतीय सवारीप्रतिको आकर्षण र गुणस्तरीय विकल्पको माग स्पष्ट गरेको छ । हाल नेपाली बजारमा उपलब्ध प्रोटोन ई।मास ७ मा १६० किलोवाट क्षमताको विद्युतीय मोटर जडान गरिएको छ । यो एसयूभीले एनईडीसी मापदण्डअनुसार एकपटकको पूर्ण चार्जमा अधिकतम ४७५ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ ।

गाडीमा ३६० डिग्री सराउन्ड भ्यु क्यामेरा, उन्नत हेडरेस्ट स्पिकर प्रणाली, आधुनिक कनेक्टिभिटी सुविधा तथा अत्याधुनिक सुरक्षा प्रविधि समावेश छन् । हाल ई.मास ७ खरिद गर्ने ग्राहकले एक वर्षको निःशुल्क बीमा, सडक कर छुट, ७ किलोवाट क्षमताको होम चार्जर, ८ वर्षको वारेन्टी तथा नगद छुट सुविधा प्राप्त गरिरहेका छन् ।

यसैबीच, जगदम्बा मोटर्सले निकट भविष्यमा प्रोटोनको अर्को लोकप्रिय विद्युतीय मोडल ‘ई।मास ५’ नेपाली बजारमा ल्याउने तयारी भइरहेको जनाएको छ ।